देश

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति जवाफ माग

योहो संवाददाता

काठमाडौं– आजको प्रतिनिधिसभाको बैठकमा पनि विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिप्रति जवाफ माग गरेकाका छन् । सांसदहरुले प्रधानमन्त्रीको धारणा रेकर्डबाट हटाउन पनि माग गरीरहेका छन् ।
नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्री जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। नेपालले भारतको भूमि मिचेको छ भन्ने विषय उठेपछि आएको प्रधानमन्त्रीको भनाइबारे संसद्मा चर्चा गर्दै उनले सरकारको धारणा स्पष्ट हुनुपर्ने बताएका हुन्।

उनले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै हाल उठिरहेको त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुरा भएको छ कि छैन भन्नेबारे स्पष्ट जानकारी दिन आग्रह गरे। उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश गरेको तथा नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय उठाए।

यस्तै एमालेकी सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताइन् ।

कांग्रेसकी रेखाकुमारी यादवले विगतमा केटाकेटीलाई ललिपप देखाएजस्तो परराष्ट्रमन्त्रीले बोलेर नहुने बताइन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीले जवाफ दिएर नहुने उल्लेख गरिन् ।