विदेश

राष्ट्रपति बाइडेनको घरमा गोप्य सरकारी कागजात फेला


काठमाडौँ— संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनको निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन्।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरको नेतृत्वमा अनुसन्धान हुनेछ। बाइडेनको निवास र यसअघि उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेजहरू भेटिएका थिए। राष्ट्रपति कार्यालयले बाइडेनले अनुसन्धानलाई पूर्ण सहयोग गर्ने जनाएको छ ।

गोप्य दस्ताबेज राम्ररी नसम्हालेको आरोपमा पूर्वराष्ट्रपति ट्रम्पमाथि छानबिन चलिरहेका बेला बाइडेनको निवास र कार्यालयमा संवेदनशील कागतपत्रहरू फेला परेपछि उनी राजनीतिक रूपमा अप्ठ्यारोमा पर्ने ठानिएको छ।

यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा बाइडेनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडेन सेन्टर’मा फेला परेका थिए।

बाइडनले राष्ट्रिय अभिलेखालयलाई ती दस्ताबेज हस्तान्तरण गरिएको बताएका छन्। दोस्रो चरणमा यस्ता फाइलहरू डेलावेअरको विल्मिङ्टनस्थित बाइडेनको निवासमा डिसेम्बर २० मा भेटिएका थिए।

बिहीवार पनि उनको निवासमा थप कागजपत्र फेला परेको जानकारी अनुसन्धानकर्ताहरूलाई उनका वकिलहरूले दिएका थिए।