Breaking

प्रचण्डलाई भेटेर खगराजले भने : केन्द्र सरकार तपाईं हाक्नुस्, प्रदेश म हाँक्छु


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयतालाई बलियो बनाउनेबारे कुराकानी भएको जनाएको छ ।

प्रचण्डसँगको भेटमा क्रम अधिकारीले ‘काम गर्ने सवालमा तपाईंको र मेरो स्प्रिट मिलेको छ, केन्द्र सरकार तपाईं हाक्नुस्, प्रदेश म हाँक्छु ।’ भनेको जनाएको छ । भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको अधिकारीले जानकारी दिए ।

प्रचण्डले असाधारण विश्वासको मत पाएकोमा आफूले बधाई दिएको र मुख्यमन्त्री बनेकोमा प्रचण्डले आफूलाई बधाई दिएको पनि उनले बताए । एमाले नेता अधिकारी पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिंदैछन् ।

प्रचण्डले पाएको जस्तै असाधारण विश्वासको मत पाउन आफूले पनि कोसिस गर्ने मुख्यमन्त्री अधिकारीले बताए । मुख्यमन्त्री अधिकारीले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।