देश

सेयर बजारमा रौनकता कायमै


काठमाडौँ— सेयर बजारमा रौनकता कायमै छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि झण्डै साढे ५ अर्ब पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक २०।५५ अंकले बढेर २१६४।४८ विन्दुमा पुगेको छ । नेप्से ०।९६ प्रतिशतले बढेको हो ।

यता सेन्सेटिभ परिसूचक भने स्थिर रहेको छ । आज पनि सेन्सेटिभ परिसूचक ४११।२३ विन्दुमा नै छ ।

कूल २५९ वटा कम्पनीको एक करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र लघुवित्त समूह घटेको हो ।