Breaking

सञ्चार मन्त्रालयको पहिलो प्राथमिकतामा माओवादी केन्द्र


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले संघीय संसदबाट पुस २६ गते विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

त्यसकालागि सत्ता साझेदार दलका नेताहरुसँग उनको सघन बैठक र छलफल जारी छ । सरकारको नेतृत्व गरेको नाताले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफूसँग राख्न चाहेको र प्रधानमन्त्री दाहालले सो मन्त्रालयको जिम्मा माओवादी केन्द्रबाट एकमात्र महिला प्रत्यक्ष निर्वाचित सांसद रेखा शर्मालाई दिने तयारी गरेका छन् ।

दाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद शर्मासँग त्यसबारेमा प्रधानमन्त्री दाहालले छलफल गरिसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । यसअघि प्रधानमन्त्री दाहालले शर्मासँग उपराष्ट्रपति बन्नका लागि आग्रह गरेका थिए । तर सांसद शर्माले आफू सो पदमा नजाने अडान राखेपछि उनलाई सरकारको प्रवक्तासहित सञ्चार मन्त्रालयको जिम्मेवारी लिन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

सत्ता साझेदार दहरुसँग मिलेर मन्त्रिपरिषद विस्तार गर्ने अवस्था भएपनि सञ्चार मन्त्राललय आफैसँग राख्ने चाहना प्रधानमन्त्रीको छ । सञ्चार मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले नै लिनुपर्ने यसअघिको प्रचलन रहेको र माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरको एक टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरी सञ्चार मन्त्रालय आफैसँग राख्न दवाव दिइसकेको छ ।

मन्त्रालय माओवादी केन्द्रको भागमा आएमा रेखा शर्मालाई सञ्चार मन्त्रालयको जिम्मा दिने तयारी प्रधानमन्त्री दाहालको छ । उनले सो मन्त्रालय लिन तयार नभएमा सांसद सुधन किरातीलाई सो मन्त्रालयको जिम्मा दिने छलफल पनि माओवादी केन्द्रमा भइरहेको प्रेस सेन्टरका एक केन्द्रीय सदस्यले भने ।

माओवादी केन्द्रले सञ्चार मन्त्रालय आफूसँग नराखेमा संसदमा दोस्रो ठूलो दल तथा सत्ता साझेदार गरेको पहिलो ठूलो दल नेकपा एमाले सञ्चार मन्त्रालयको जिम्मा लिने जनाएको छ । यद्यपि मन्त्रालय भागवण्डा गर्न बाँकी रहेकाले अझै एकिनसाथ भन्न सक्ने अवस्था नरहेको माओवादीका एक नेताले बताए ।

सञ्चार मन्त्रालय पहिलो प्राथमिकतामा माओवादी केन्द्रलाई र दोस्रो प्राथमिकतामा एमालेलाई जाने निश्चित भएको उनले बताए ।