Breaking

युद्धस्तरमै उत्रिए रविपछि नारायणकाजी, गति बढाउँदै प्रचण्ड सरकार, खाल्डाखुल्डी पुर्न १५ दिन समय


काठमाडौँ — प्रचण्ड सरकारका विभागीय मन्त्रीहरुले प्रत्येक दिन नयाँ–नयाँ निर्णय र निर्देशन दिन थालेको छन् । प्रधानमन्त्री र मन्त्रीहरुको सुरुवाती कदमले केही परिवर्तनको आशा जगाएको छ । नयाँ सरकार गठन भएसँगै विभागीय जिम्मेबारी पाएका मन्त्रीहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रबाटै काम गर्न सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको दैनिकीसँग सरोकार राख्ने विषयमा काम निर्देशन दिएसँगै मन्त्रीहरु सोहीअनुरुप फिल्डमा खटिएका छन् ।

माथिको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा निर्णय र निर्देशन दिईरहेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडल अर्थमन्त्रालयमा नियुक्त भएसँगै निरन्तर ओरालो लागिरहेको सेयर बजारको मूल्य पनि उकालो लाग्ने क्रममा छ । अर्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ त दिन बिराएर आफ्नो मातहतमा पर्ने निकायहरुको स्थलगत अवलोकनमा यस्त छन् ।

मंगलबार मात्रै उपत्यकाका यातायात कार्यालय अनुगमन गर्न पुगेका मन्त्री श्रेष्ठ बिहीबार पनि काठमाडौँको सडक खाल्डाखुल्डी पुरेको निरीक्षण गर्नपुगे । काठमाडौँभित्रको सडक मर्मतसम्भार गर्ने निकाय विभिन्न छन् । जसमा महानगर, बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण, सडक डिभिजन कार्यालय जस्ता निकायहरु पर्छन् ।

देशकै राजधानी भएपनि विभिन्न मर्मतको नाममा अधिकतम् समय सडक खाल्डाखुल्डीकै अवस्थामा रहने गरेको छ । राजधानीबासीलाई त्यही नियतीबाट छुटकारा दिलाउन मन्त्री श्रेष्ठले उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र र देशभरिका राजमार्गको खाल्डाखुल्डी १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका छन् ।

निरन्तर काम गरिरहेको भए पनि मन्त्रीको अनुगमनले थप काम गर्न प्रोत्साहन मिल्नेको डिभिजन कार्यालयका कर्मचारीहरु बताउँछन् । मेलम्चीको पानी देखि विद्युत् प्रशारणले गर्दा हिलाम्मे र धुलाम्मे हुने काठमाडौँको सडकमध्ये सडक डिभिजनले ३ सय किलो मिटर मात्र हेर्छ । तर, पनि खाल्डाखुल्डी हुँदा सडक डिभिजनले नै गाली खानु परेको उनीहरुको भनाई छ । यद्यपि, मन्त्रीको निर्देशन अनुसार नै अगाडी बड्ने योजनामा सडक डिभिजन कार्यालय छ ।

निर्माणमा विवाद र समस्या परेका ठाउँमा मन्त्री आफै उपस्थित हुँदा काम गर्ने वातावरण मिल्ने डिभिजन कार्यालयको बुझाइ छ । सबै ठाउँमा मन्त्री नै पुग्न सक्ने अवस्था त रहन्न । तर उत्पन्न विभिन्न समस्या समाधानका लागि मन्त्रीको ताकेता अनुसार अरु व्यवस्थापन पनि मिलाउने र संयुक्त पहल हुन सके काठमाडौँको खाल्डाखुल्डी मात्रै होइन आम नागरिकको दैनिकीमा पनि सहजता आउन सम्भव छ । फगत सस्तो लोकप्रियता र हुकुमी शैली मात्रै हो भने विगतमा अन्य मन्त्रीको झै उनको यो दौडधुप पनि फिका हुने छ । आश गरौं पटकपटक मन्त्री बनेका श्रेष्ठको यो दौडाहाले सार्थकता पाउने छ ।