Breaking

रवीन्द्र मिश्रले भेटे पूर्वराजा ज्ञानेन्द्र शाहलाई


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग भेटेकोबारे मिश्रले बिहीबार ट्वीटरबाट सार्वजनिकसमेत गरेका छन् । मिश्रले पूर्वराजा शाहसँग आफूले १५ वर्षपछि भेटेको उल्लेख गरेका छन् ।

‘असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था,’ मिश्रले लेखेका छन्, ‘बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।’
‘स्वार्थकेन्द्रीत र अपरिपक्व नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हित र अहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिए । त्यो पनि राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिको विपरित गएर,’ उनले भनेका छन् ।