Breaking

३५ जना चालकलाई साविककै स्थानमा व्यवस्था गर्न गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन


काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन भनेको हो ।

सवारी चालकहरुको नामावली नै गृहमन्त्रालयमा पठाइएको छ । नामावलीमा १३ जना प्रहरी जवान र १४ जना प्रहरी हबल्दार छन् । ४ जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी वरिष्ठ हबल्दार र एक जना प्रहरी सहायक हबल्दार छन् ।