Breaking

गृहको निर्देशनलाई चुनौती दिँदै क्यान, मिलोमतो, भ्रष्टाचार र बेटिङको थलो !


काठमाडौँ — कानुनविपरित भारतीय कम्पनीलाई जबरजस्ती बेचिएको फ्रेन्चाइज प्रतियोगिता नेपाल टी २० लिग विवादै विवादमा रुमल्लीएको छ । खेलाडी तथा खेल अधिकारीहरुले पारिश्रमिक नपाएको, आयोजकमध्ये एक बेखबर भएको र बेटिङका कारणले लिग विवादमा मुछिएको छ । गृहमन्त्रालयले समेत अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएपछि तरंग श्रृजना भएको छ । नेपाली खेलकुद जगतको सर्वाधिक सफल खेल हो क्रिकेट । साथै, सबैभन्दा बढी माया पाएको खेल पनि क्रिकेट । कुनै समय नेपालीको खुशीको पर्याय बनेको क्रिकेटले पछिल्लो केही वर्षदेखि भने निराशा मात्रै दिइरहेको छ ।

पहिल्यै देखि राजनीतिक खिचातानी हुने नेपाल क्रिकेट संघ (क्यान) आजसम्म पनि विवादबाट मुक्त हुन सकेको छैन । कहिले संघका पदाधिकारीबीच मनमुटाव त कहिले आईसीसीको निलम्बन । कहिले खेलाडीसँगको विवाद त कहिले कप्तान छनोट र अस्थिर प्रशिक्षकको मतभेद । खेलभन्दा बढी विवादले चर्चामा आउने क्यान यतिबेला फेरि आलोचनाको भूमरीमा परेको छ । क्यान आफैले आयोजना गरेको फ्रेन्चाईज लिग नेपाल टि–ट्वान्टि विवादमा परेको हो। नेपाली क्रिकेटकै अभिभावक संस्था क्यानले आयोजना गरेको लिगमा नै म्याच फिक्सिङको चर्चा गम्भीर बनेको छ । यसै लिगमा कमेन्टेटरको भूमिकामा रहेका सचिन तिमिल्सिनाले यस विषयलाई बाहिर ल्याएका हुन् ।

कमेन्टेटर तिमिल्सिनाकै आरोपलाई थप बल पुग्ने गरेर राष्ट्रिय टोलीका पूर्व कप्तान तथा हाल काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले फिक्सीङका लागि प्रस्ताव गरेको खुलासा गरेका छन् । यस सम्बन्धि नियमअनुसार उनले एन्टी करप्सन युनिटलाई जानकारी गराएको बताएका छन् ।

म्याच फिक्सिङसँगै सम्झौता अनुसार खेलाडीहरुले पारिश्रमिक नपाएको मुद्धाले पनि लिग विवादमा तानिएको छ । खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएकाकारण मंगलबार तोकिएको समयमा खेल नै हुन सकेन । प्रतियोगित सुरु हुनु अघि ४० प्रतिशत र प्रतियोगिता दौरान बाँकी ६० प्रतिशत रकम पाउनु पर्ने सम्झौतामा उल्लेख थियो ।

क्यानभित्र भइरहेका यस्ता गतिविधि छताछुल्ल भएसँगै गृहमन्त्रीले छानविन गर्न निर्देशन नै दिएको छ । पारिश्रमिक नदिई आयोजकको एउटा पक्ष फरार भएको, बेटिङको जालोलाई लिएर उक्त विषयमा विस्तृत जानकारी गराउन युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लाई पत्र पठाएको छ । विदेशी खेलाडीको अझै श्रम स्वीकृतिप्राप्त नभइसकेको अवस्थामा पनि खेलिरहेकाले गृह मन्त्रालयले सबै पक्षबाट स्पष्टीकरण खोजेको हो । जसमा क्यानले पनि गृहको निर्देशनलाई चुनौती दिँदै प्रमाण गरेर देखाउन चुनौती दिएको छ ।

नेपालमा यसअघि पनि सन् २०१७ मा भएको एसियन प्रिमियर लिग (एपीएल)माविदेशी खेलाडीलेम्याच फिक्सिङ भएको खुलासा गरेपछि ठूलो चर्चा पाएको थियो । अहिले पुनः यस्तै चर्चा चुलिरहँदा अन्तरर्राष्ट्रिय स्तरमा नेपालको छवि र नेपाली क्रिकेटलाई हेर्ने नजर धुमिलिने निश्चित छ । साथै, क्यानमा राज्य संयन्त्रको हस्तक्षेपसँगै बल्लतल्ल फुकुवा भएको क्रिकेट फेरि पनि निलम्बनमा पर्ने डर पैदा भएको छ ।