खेलकुद

म्याच फिक्सिङबारे बोल्यो क्यान


काठमाडौँ— नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगमा भएको भनिएको म्याच फिक्सिङ र स्पट फिक्सिङबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।

बुधबार विज्ञप्ति निकालेर क्यानले यस्ता गतिविधि अन्त्य गर्न प्रतिबद्ध रहेको जनाउँदै जानकारी भए प्रमाणसहित कार्यालय वा नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा बुझाउन आग्रह गरेको छ।

मंगलबार नेपाल टी–२० लिगकै कमेन्टेटर सचिन तिमल्सिनाले खेलमा स्पट फिक्सिङ भएको भन्दै लिगबाट बाहिरिएको बताएका थिए। यसका अलावा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सरको अप्रोच आएको बताएका थिए।

संघ र राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन आग्रह गरेको क्यान खेलाडीको पारिश्रमिककको विषयमा भने मौन बसेको छ।