Breaking

माधवलाई मनाउने ओली काइदा, राष्ट्रपतिको कार्डमा फस्लान् माधव ?एमालेसँग एकता कि सत्ता सहकार्य ?


काठमाडौँ — पाँच दलीय गठबन्धन भत्किएर एमाले नेतृत्वको गठबन्धन बनेपछि माधव कुमार नेपाल नेतृत्वको नेकपा एस अन्योलमा फसेको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा पार्टीभित्र दुईथरी मत देखिएपछि अध्यक्ष नेपालसमेत संकटमा परेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्तै व्यवस्थापनको केन्द्रीय प्रश्न माधवकुमार नेपाल बन्थे भने अहिले उनी सबैको रोजाईमा पर्थे । तर कमजोर पार्टी धरातल र खुम्चिएको संसदीय हैसियतले माधव नेपाल भए पनि ठिक र नभए पनि ठिकको अवस्थामा छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एसलाई सहकार्यमा डाक्नु अन्य दलका लागि अनिवार्य छैन, तर अन्यसँग सहकार्य वा एकतामा जानु नेकपा एसका लागि अनिवार्य बन्दै गएको छ ।झन प्रचण्डले काँग्रेस नेतृत्वको गठबन्धनलाईतोडेर एमालेको भिक्षादानमा प्रधानमन्त्री बन्ने बाटो समाएपछि माधव यता न उताको बनेका छन् । आउन त सत्ता सहकार्य र पार्टी एकतासम्मको प्रस्ताव नआएको होइन । तर पार्टीभित्रै मत बाझिएपछिमाधव अन्योलमा परेका छन् ।

एमाले नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषयमै छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक बसेको छ । तर अधिकांश नेताहरु एमालेबाटै विभाजित भएर एमाले नेतृत्वकै सरकारमा जानुको औचित्य खोजिरहेका छन् ।किनकि नेकपा एमाले केही स्वतन्त्रसहित नेकपा एसलाई सहभागिताका लागि मात्रै सरकारमा सामेल गर्ने होइन कि, पार्टीमै गाभेर संसदको पहिलो शक्ति बन्ने नीतिमा अघि बढेको छ ।

यसका लागि माधवको घरमै पुगेर एमाले नेताहरुले औपचारिक प्रस्तावसमेत गरेका छन् । त्यसमा माधव नेपाललाई राष्ट्रपति बनाएर खुशी बनाउने विषयमा समेत छलफल भएको कतिपय नेताहरु बताउँछन् । तर माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार भइहाल्ला भन्ने विषयमा नेताहरुको आशंका छन् ।तर संसदीय निर्वाचनमा निर्वाचित भएर आएका नेताहरु सरकारमा सहभागी हुनेबारे सहज नै देखिन्छन् ।

नेकपा एसले जितेको मात्र १० सिट हो । समानुपातिकमा थ्रेसहोल्ड नकटेपछि राष्ट्रिय पार्टी बन्ने अवसरसमेत गुमेको छ । त्यसले संसदीय हैसियत खुम्चिएको छ नै पार्टी विभाजनको औचित्यपुष्टि गर्न पनि माधव असफल बनेका छन् । सात दलका १६६ र तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा सरकार बनेपछि सत्ता राजनीतिमा माधव पुछारमा धकेलिएका छन् । तर विगतमा सँगै हिड्न गरेको प्रणकै कारण माधवलाई सत्तामा ल्याउन प्रचण्ड बाध्यकारी जस्तै देखिन्छ ।

तथापी सम्मानजनक प्रस्तावको प्रखाईमा रहेका माधवलाई पार्टीभित्र प्रतिपक्षमा बस्न बलियो दबाब आइरहेको छ । किनकि संसदीय प्रणालीमा निर्णायक हुने गणितको खेलले माधवका सबै राजनीतिक विकल्पसीमित गरिदिएको छ ।फलतः सत्तामा जान वा शक्तिमा रहन कुनै न कुनै दलको बुई चढ्नैपर्ने बाध्यता माधवमा देखिन्छन् ।