Breaking

अन्य मन्त्रीहरु भूमिकाविहीन रहँदा गृहमन्त्रीलाई भ्याइ–नभ्याई,बोले झै नतिजामुखी काम गर्न तल्लीन


काठमाडौँ — पुष १० गते प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भयो । ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शपथलगत्तै गृहमन्त्री रवि लामिछानेको चर्चा चुलिँदा अन्य मन्त्री भने गुमनाम छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले पूर्णता पाउने क्रममा छ । जम्मा ८ जना मन्त्रीले शपथ ग्रहण गरे पनि ३ जनाको मात्र विभाग तोकिएको छ । देशले ८ मन्त्री पाइरहँदा प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मात्र जनतालाई मन्त्री भएको छनक दिइरहेका छन् ।

गृहमन्त्री लामिछानेले आफ्नो सक्रियता दिनानु दिन बढाउँदै लगेका छन् । सोमबार मात्रै देशैभरका ७७ वटै प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरेका उनले आवाज विहीनहरुका आवाज सुन्न र जागिर खाए जस्तो नभई हाई स्पीडमा काम गर्न निर्देशन दिए । आज नै प्रधानमन्त्री र निर्वाचन आयोगका आयुक्तसँग भेटेका उनले जनतालाई सुशासन प्रत्याभूत हुने गरि नागरिकमा आशा जगाउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

पुस १० गते पदभार ग्रहणसँगै १४ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई अनुसन्धान गर्न निर्देशन दिएका लामिछानेले भोलिपल्टै विशिष्ठ व्यक्तिको सुरक्षार्थ खटिएका अनावश्य सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय गरे र दुई दिनभित्र२२५ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाए । पुस १३ गते राहदानी विभाग पुगेर सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिए थिए । त्यस्तै गत शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उत्कृष्ट ढंगले काम गर्न निर्देशन दिए ।

मन्त्रीहरुले शपथ लिए पनि त्यसको छनक नदेखिरहेको अवस्थामा गृहमन्त्री भने निरन्तर एक्सनमा देखिएका छन् । अन्य मन्त्रीहरु अहिले भूमिकाविहीन रहँदा गृहमन्त्री भने पहिलो चरणबाटै आफूले बोले झै नतीजामुखी काम गर्न तल्लिन देखिछन् । यद्यपि,स्वकीय सचिवमा निकटका साथी दीपक बोहरा नियुक्ती दिएकोमा भने आलोचना पनिभइरहेको छ । तर, पनि मन्त्री नयाँ भएको हुँदा काम गर्न दिनुपर्ने गृहका जानकारहरु बताइरहेका छन् ।

परिवर्तनको मुद्धा बोकेर जनताको मत जित्दै उपप्रधानसहित गृहमन्त्री बनेका लामिछानेको प्रयास प्रतिफलमा बदलिन्छ या बदलिन्न यो त समयले बतलाउँला । तर, उनको पहिलो सुरुवाती प्रयास चर्चाकै लागि सीमित भएको आरोप लागिरहँदा उनको पहली कदमले साँच्चिकै गृहबाट जनताले राहत महसुस गरे उनी त सफल हुन्छ नै साथै जनताको मतको पनि कदर हुने छ ।