Breaking

तराईका विपन्न वर्ग घुरको साहारामा शितलहरको सामना गर्दै, सरकारलाई छैन चासो


काठमाडौँ — केही दिनदेखि शितलहरबाट तराईको जनजिवन प्रभावित बन्दै गएको छ । शितलहरबाट सबैभन्दा बढी सुकुम्बासी, विपन्न वर्ग मारमा परेका छन् । चिसोबाट जोगाउन स्थानीय सरकारले कुनै पहल नगरेकोे उनीहरुको गुनासो छ । केही दिनदेखिको शितलहरले तराई मधेसको जनजिवन प्रभावित बन्दै गएको छ । शितलहरबाट सबैभन्दा बढी विपन्न वर्ग मारमा परेका छन्। ठन्डीबाट जोगिन उनीहरू दिनभर घुर÷आगो बालेर बस्ने गरेका छन । कठ्यांग्रिने चिसोबाट बच्न न्यानो लुगा नभएकाहरु घुरकै सहारामा बाँचेको बताउँछन्। त्यही घुर बाल्न चाहिने पराल,भुँस र दाउरा पनि पर्याप्त नभएपछि खरिद गर्र्नेपर्ने बाध्यतामा विपन्नहरु पुगेका छन् ।

जीउ ढाक्ने न्याना कपडा नहुँदा साना बालबालिका, वृद्धवृद्धा र बिरामीहरुलाई सबैभन्दा धेरै समस्या परेको छ । शरिर तताउने कपडा नहुँदा मुसहर,डोम,चमार लगायत दलित बस्तीका अधिकांशलाई जाडो छल्न कठिन भएको छ । तर यो वर्ष स्थानीय तहका जनप्रतिनिधिहरले विपन्न नागरिकलाई वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । हालसम्म प्रभावितहरुलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले पनि कुनै वास्ता गरेका छैनन् । पूर्ण अधिकार प्राप्त स्थानीय तहले चिसोले कठ्यांग्रिएर केही मानिसहरुको मृत्यु भइसक्दा समेत गैरजिम्मेवार बनेको भन्दै मधेसका नागरिकले गुनासो गरेका छन् ।

शरिरलाई न्यानो पार्न बालिएको घुरका कारण पनि कतिपयले अकालमा ज्यान गुमाउँदै आएका छन्।केही दिन अगाडी जिल्लाको हरिवन नगरपालिकाको वडा न–३ मा आगो ताप्ने क्रममा अचानक शरीरको कपडामा आगो सल्किन गई एक ५५ वर्षीया महिला गोरीमाया रखलको ज्यान गएको थियो। घुरबाट निस्केको धुुँवाबाट मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु पनि देखा पर्न थालेको छ।

चुनावको बेला भोट माग्न आउँदा अनेकन आश्वासन बाड्ने नेताहरु चुनाव जितेपछि पनि उत्त बस्तीमा पुगेका छैनन् । यद्दपी सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले भने शितलहरलाई मध्येनजर गर्दै सम्पूर्ण राहत व्यवस्थापनको काम गरेको बताए ।

सरोकारवाला पक्षले प्रभावितका लागि उचित व्यवस्थापन गरिएको भनिएता पनि स्थानीयले त्यस्तो महसुस गरेका छैनन् ।साथै सितलहर सुरु भएसँग कठ्याङ्ग्रिएर सर्लाहीमा मात्रै ६ को मृत्यु भएको छ । यसप्रति सरोकारवाला निकायको तत्काल ध्यान जान जरुरी छ ।