Breaking

बेँसी झर्नुपर्ने वेला जिल्ला फर्किँदै मनाङवासी


काठमाडौँ – जाडो याममा बस्न प्रतिकुल हुने भएकाले मनाङवासी जाडो छल्न बेँसी झर्ने गर्छन् । तर यस पटक जाडो छल्न बेँसी झर्ने वेलामा उनीहरू जिल्ला भित्रिँदै छन् ।

मंसिरर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा रहेका हुन् । बाहिर रहेका जिल्लावासी फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ‘मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्’, उनले भने ।

अहिले हिउँ पर्ने समय भएको छ । खानेपानी नै जम्ने अवस्थामा छ । यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले मतदानका लागि सुरक्षित व्यवस्थापन गरेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा छन् । प्रदेशसभाको (२) मा स्वतन्त्र उम्मेदवार दिपक मनाङे विजयी भइसकेका छन्। त्यसैले प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ एक सदस्यका लागि मतदान हुनेछ ।

मनाङमा तीन हजार २८१ पुरुष र तीन हजार ४९८ महिला गरी छ हजार ७७९ मतदाता छन् । अस्थायी मतदान केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन् ।