Breaking

एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्दैनन् : ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने दाबी गरेका छन् ।

आज सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए । ओलीले भने, ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ ।’ उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउसै टर्च बालेर हिँडने र सिध्याउने भने ।’

ओलीले नेपाली कांग्रेस सन्ठीको लौरो भएको समेत आरोप लगाए ।​ कांग्रेस एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकेर माओवादी र एकीकृत समाजवादीलाई सँगै लिएर हिँडेको दाबी पनि गरे । ओलीले विदेशीसँग पुच्छर हल्लाउने बाहेकको शक्तिसँग तालमेल गरेको पनि दाबी गरे ।

ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन परेको बताएका छन् । एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत बताए ।

आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको ओलीको बुझाइ छ ।