Breaking

मनमोहन अस्पतालमा आधा सेकेण्डमै सिटीस्क्यान 


काठमाडौँ – नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । अत्याधुनिक कार्डियो सिटीस्क्यानबाट आधा सेकेण्डमै सिटी स्क्यान गर्न मिल्ने जनाइएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेण्डमै सिटी स्क्यान गर्न सकिने मेसिन ल्याएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठले आधासेकेण्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमा पहिलोपटक आएको दाबी गरे ।

मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ । श्रेष्ठले कार्डियो भास्कुलर हाइब्रिड थिएटर अत्यधिक गुणस्तरीय रहेको बताए । अन्य सरकारी तथा निजी अस्पतालमा यस प्रकारको अपरेसन थिएटर नभएको उनले दाबी गरे ।

श्रेष्ठले मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’का लागि नेपालीले भारतमा गएर १५्/२० लाख खर्चने गरेको बताए । नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा सेवा दिने बताए ।

कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेको पनि श्रेष्ठले जानकारी दिए ।

के हो त थिएटर ?
उहाँका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो ।

प्रा डा श्रेष्ठले भन्नुभयो, “कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा पाइसक्नुभएको छ । भारतमा यो सेवा लिन भारु १० देखि १५ लाखसम्म पर्दछ । हामीले त्यति नै नेपाली पैसामा स्वदेशमा नै यो सेवा प्रदान गरेका छौँ । हाम्रो ध्येय मुटुका बिरामी भारतमा उपचारार्थ जान नपरोस् भन्ने हो ।”

यस्तो छ कार्डियो सिटीस्क्यानको सेवा
सेन्टरले भित्र्याएको पछिल्लो अत्याधुनिक कार्डियो सिटीस्क्यानले एक धड्कनमा चार सिटीस्क्यान गर्न मिल्ने जनाइएको छ । मुटुको रक्तनलीको सिटीस्क्यान गर्ने काम अत्यन्त जटिल मानिन्छ । नेपालमा पाँच सय १२ स्लाइसको कार्डियो सिटीस्क्यान सेवा सहिद गङ्गालाल हृदय रोग उपचार केन्द्र बाँसबारीमा मात्र रहेको जनाइएको छ ।

प्रा डा श्रेष्ठले भन्नुभयो, “मुटुको उपचार सेवा सस्तो, सुलभ र गुणस्तरीयरुपमा स्वदेशभित्र उपलब्ध गराउन उच्च प्राथमिकताका साथ अनवरत रुपमा लागिरहेका छौँ ।” मुटु, फोक्सो र रक्तनली उपचारमा अब्बल सेन्टरले बिरामीले चाहेकै समयमा कार्डियो सिटीस्क्यान सेवा तत्काल उपलब्ध गराउने नीतिसमेत तय गरेको छ । यसका लागि उपकरणको प्रयोगका बारेमा आफ्ना प्राविधिक जनशक्तिलाई विशेष तालिम दिने उहाँले बताउनुभयो ।

सेन्टरले गत वर्ष ७५ हजार बहिरङ्ग, एक हजार सातसय क्याथल्याब सहित मुटु, फोक्सो र रक्तनलीको दुई हजार ५०० सेवा प्रदान गरेको थियो ।