Breaking

दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते


काठमाडौँ – दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरू बीच कुटाकुट भएको छ ।

बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो । प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन् ।

गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन् । झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका छन् ।

उनीहरूको अहिले लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । एमाले प्रदेश सभा (२) का उम्मेदवार रामदत्त जोशीको टोलीले प्रचार गरिरहेको अवस्थामा गठबन्धनका कार्यकर्तासँग जम्काभेट भएपछि विवाद भएको थियो । गठबन्धन्का कार्यकर्ताले विवाद सुरु गरेपछि झडपको स्थिति बनेको बताइएको छ। प्रचारमा अवरोध गरेपछि प्रतिवाद गर्न खोज्दा झडप भएको एमाले दार्चुलाले जनाएको छ ।

अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्कने क्रममा ओखलमा गठबन्धनका कार्यकर्ताले मदिरा सेवन गरी विवाद गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको भनाई छ । झडपपछि प्रहरी टोलीले उम्मेदवारको टोलीलाई सुरक्षित स्थानमा पुर्‍याएको थियो ।