Breaking

शिवले ७० करोडको भारी बोकाएपछि झोक्किए बास्कोटा, जित्नलाई जे गर्न पनि तयार, कस्को पल्ला भारी ?


काठमाडौँ — त्यसो त देशमा यतिखेर मौसमी तापक्रम चिसिँदै छ । तर,संघीय चुनाव आउन अब दुई सातामात्रै बाँकी रहँदा मौसम चिसिदैगए पनि राजनीतिक तापक्रम भने रापताप पूर्ण बन्दै गएको छ । चुनावले देश तातिरहँदा काभ्रे २ मा परिचित र प्रभावशाली अनुहार प्रतिष्पर्धीको रुपमा मैदान उत्रँदा देशको ध्यान नै त्यतातिर मोडिएको छ ।

काभ्रे २ ले यसकारण पनि देशको ध्यान तानको छ कि त्यहाँबाट पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा चुनावी प्रतिष्पर्धामा छन् । बोल्ने शैलीसँगै खरो स्वभाव र मन्त्री हुँदा गरेका अनेक फण्डाले चर्चामा आएका बाँस्कोटाका अगाडी तगारो बनेका छन् नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईं । पूर्व सांसदसमेत रहिसकेका हुमागाईं बाँस्कोटालाई पराजित गरेर पुनः काभ्रेली २ को नेतृत्व गर्न निरन्तर कसरतमा छन् ।

चार पटक जिल्ला सभापति भएर काम गरिसकेका हुमागाईं २०५६ सालको प्रतिनिधिसभामा यसै क्षेत्रबाट निर्वाचित सांसद हुन् । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधान सभा चुनावमा एमालेकै रामहरि सुवेदीसँग पराजित भएका उनी यस पटक भने माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको सहयोगमा पुनःसांसद बन्ने तयारीमा छन् ।

संविधानविरोधी शक्तिलाई परास्त गर्न जनता तयार भएको र अब कांग्रेसलाई नै जनताले चुन्नेमा हुमागाईं विश्वस्त छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको बलमा आरामदायी ढंगले चुनाव जितेका नेकपा एमालेका नेता एवं पूर्व–सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई यस पटक भने सांसद बन्न त्यत्ति सहज छैन । एमाले विभाजन भईसकेपछि आफ्ना सहकर्मी विपक्षीको लबिङमा लागेसँगै उनको भोट काटिने निश्चित छ । यद्यपि, हुमागाईं चुनाव जित्न विभिन्न योजना बनाईरहँदा बाँस्कोटा पनि आफ्नै शैलीमा मतदाता रिझाई रहेका छन्

राष्ट्रिय राजनीतिमा छोटो समयमा नै शक्ति र चर्चाको शिखरमा पुगेका पूर्वमन्त्री बाँस्कोटा धेरैसमय सत्तामा टिकिरहन भने सकेनन् । ०७६ मा मन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमाकरोड रुपैयाँ कमिसन मागेको अडियो बाहिरिएसँगै मन्त्री पदबाटै हात धुन परेको थियो । यद्यपि उनले प्रमाण ल्याउन चुनौती दिँदै आफू सरकारमा हुँदा गरेको कामको आधारमा आफूले चुनाव जित्ने र त्यसपछिको ५ वर्ष युवालाई प्रोत्साहन गर्ने बताईरहेका छन् ।

काभ्रे–२ मा ७ स्थानीय तहमा गरेर ६६ वडा छन्् । जसमध्ये वैशाख ३० मा सम्पन्न निर्वाचनमा ३९ वटामा सत्तारुढ गठबन्धनका दलले जित हात परेका थिए । २५ वडा एमालेको भागमा पर्दा एउटा भने राप्रपाको नाममा रह्यो । यो क्षेत्रमा वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धनको ६० हजार ६०२ छ भने एमालेको ४५ हजार ५ सय १४ र राप्रपाको दुई हजार ३ सय ५४ मत छ ।
एक लाख ५७ हजार ४ सय ४२ मतदाताको बसोबास रहेको यहाँ पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवार छन् ।

बाँस्कोटा र हुमागाईं दुवैलाई एक पटक जिताएर माननीय बनाईसकेका काभ्रेली २ वासीले यस पटक पनि यिनै दुईमध्ये एकलाई रोज्ने सम्भावना बढी छ । त्यस्तै दुई निर्वाचन क्षेत्र भएको काभ्रे १ मा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सूर्यमान तामाङ र एमालेबाट रेशमबहादुर लामा प्रतिष्पर्धामा छन् । यी दुईलाई बाँकी १५ जना उम्मेदवारले चुनौती दिएका छन् ।