देश

राप्रपाको चुनावी कार्यक्रममा मनिषा कोइरालाको सहभागीता


काठमाडौँ— चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रममा सहभागी हुने घोषणा गरेकी छन् । मनिषा कांग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री बिपी कोइरालाकी नातिनी हुन् ।

कोइरालाले राप्रपाको कार्तिक २५ गते काठमाडौंको बसन्तपुरमा दिउँसो १ बजे, त्यसअघि पोखरा र स्याङ्जामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, कोइरालाले ट्वीटरमार्फत आफ्नो व्यस्त कार्यतालिकाबाट विश्राम लिएर राप्रपाको चुनावी सभामा सहभागी हुन घर जान लागेको उल्लेख गरेकी छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई गतिशील, दूरदर्शी एवम् युवा नेताको रुपमा चित्रण गरेकी छन् ।

लिङदेनको राष्ट्रियता र देशको इतिहास र सांस्कृतिक बुझाइले समकालीन नेताहरुभन्दा माथि राखेको मनिषाले बताएकी छन् ।