Breaking

काठमाडौं ६ मा मिल्यो गठबन्धन, एकिकृत समाजवादी र माओवादी केन्द्रले काङग्रेसलाई सघाउने


काठमाडौँ — काठमाडौं–६ मा गठबन्धन एकिकृत समाजवादी र माओवादी केन्द्रले काङग्रेसलाई सघाउने भएको छ । आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौं–६ मा गठबन्धनका साझा उम्मेदवार भीमसेनदास प्रधानले राजनीतिक स्थायित्व र परिवर्तनको रक्षाका लागि पनि आफूहरुले नेतृत्व गरेको गठबन्धनले जित्ने विश्वास दिलाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा सत्ता गठबन्धनलाई बलियो बनाउनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालको राजनीतिमा आफूहरुले ठूला–ठूला आन्दोलन गरेको स्मरण गराउँदै अब मुलुकको समृद्धिको लागि भूमिका खेल्ने बेला आएको स्पष्ट पारे । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा ०४६ सालमा कांग्रेस र कम्युनिष्टहरुबीच कार्यगत एकता भएको उल्लेख गर्दै अहिले पनि संविधान र व्यवस्थाको रक्षाको लागि पाँच दलीय गठबन्धन बनेको र यो लामो समयसम्म जाने दाबी गरे ।

प्रधानले नेपालको समृद्धिको लागि पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन अवस्थामा सरकारको नेतृत्व गर्दा दुईरदुई पटक संसद् विघटन गरेको र संसद् पूनस्थापनाको लागि आफूहरु एकजुट भएको उनको भनाई छ ।

उनले भने,‘जनताले नेकपालाई त्यत्रो बहुमत दिए, प्रचण्डले त आधा कार्यकालको प्रधानमन्त्री पनि केपी ओलीलाई छोड्नु भयो । तर, उहाँले दुई दुई पटक संसद् विघटन गर्नुभयो । संविधानमै हामीले संसद् विघटन गर्न पाउँदैन भनेर लेखेका थियौं ।’ उनले पार्टीभित्र फरक विचार राखेकै कारण ओलीले भीम रावललाई एकल सिफारिश हुँदापनि यो निर्वाचनको लागि टिकट नदिएको भन्दै एमालेभित्रको आन्तरिक प्रजातन्त्रबारे प्रश्न उठाए ।

उनले आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा रहेको कुरा उल्लेख गर्दै बहुदलीय व्यवस्थामा स्वतन्त्रले जितेर के भूमिका खेल्ने हो भन्दै प्रश्न उठाए । उनले निर्वाचपछि बन्ने सरकारले देश र जनताको लागि राम्रो काम गर्नुपर्ने धारणा राखे । उनले भने,‘हामीसँग सही नेतृत्व छ । मुलुकको विकास हुन्छ ।’

काठमाडौं–६ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन सो क्षेत्रका गठबन्धनका स्थानीय नेताहरुले अपिल गरेका छन् । उनीहरुले काठमाडौंमा सत्ता गठबन्धनलाई मजबुद बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट इमानदारितापूर्वक भूमिका खेल्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले काठमाडौं–६ मा लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन अपिल गरे । निर्वाचन परिचालन कमिटी पनि वडा तहसम्म संयुक्त रुपमा गठन भएको सुनाउँदै अब निर्वाचनमा भारी मतले गठबन्धनका उम्मेदवारहरु विजयी हुने बताए ।

गठबन्धनका दलहरुको आ–आफ्नो स्कुलिङ र नीति भएकोले अहिले साझा उद्देश्य केन्द्रजस्तै ६ नम्बरमा पनि रहेको उनको भनाई छ। उनले मुलुकमा प्रतिगमनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेको र अग्रगमनको नेतृत्व भने आफूहरुको गठबन्धनले गरेको सुनाए । उनले भने,‘हाम्रो मन मिलेको छ । मनलाई अब मतमा परिणत गर्नुपर्छ ।’ उनले काठमाडौं–६ मा ५ हजार ५ सय ५ जनाको निर्वाचन परिचालन समिति गठन गरेको पनि जनाए ।

त्यस्तै, कार्यक्रममा जनमोर्चाका नेता जगतप्रसाद रेग्मीले पनि गठबन्धन सही उद्देश्य बोकेर जन्मिएको भन्दै देशव्यापी रुपमा गठबन्धनका उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरे । उनले देशमा ठूला–ठूला आन्दोलनपनि सबैको संयुक्त मोर्चाबाट नै सफल भएको स्मरण गराए । उनले अहिलेको गठबन्धनले जिते देशले जित्ने बताए ।

उनले भने,‘गठबन्धन आवश्यकत्ताले बनेको हो । अहिलेपनि परिवर्तन उल्टाउनको लागि प्रतिगामीहरु जुर्मुराएका छन् । एमालेले प्रतिगमनको बाटो लियो । उसले संसद् देख्नै सकेन । लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि पनि यो गठबन्धनले जित्छ, र जिताउनुपर्छ । हाम्रो विजय सुनिश्चित् छ । हामी एकजुट भएर अघि बढ्न आवश्यक छ । शंका र उपशंका गर्नुहुन्न ।’

यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता सानुभाइ मालुङले मंसिर ४ को चुनावको परिणाम आफूहरुको पक्षमा आउने दाबी गरे । उनले भने,‘परिणाम हाम्रो पक्षमा आएपछि अहिलेको उद्देश्य पूरा हुनेछ । हाम्रो विचार फरक छन् । तर उद्देश्य एउटा नै छ । हामी गठबन्धनका उम्मेदवार विजयी बनाउनेछौं उनको भनाई छ ।