काठमाडौँ — आइतवार मुस्ताङको थासाङ सानुशरेमा तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका मृतकको शव विहिवार परिवारलाई जिम्मा लगाइएको छ । पोस्टमार्टम पश्चात त्रिवि शिक्षण अस्पतालले विहिवार शव परिवारलाई हस्तान्तरण गरेको हो ।
आइतवार तारा एयरको ९ एन एईटी जहाज दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई ५ दिनपछि विहिवार बल्ल शव जिम्मा लगाइएको छ । जहाज दुर्घटनाको खबरसँगै शोकमा डुवेका परिवार र आफन्तजन शव बुझ्न विहिवार त्रि.वि शिक्षण अस्पताल पुगेका थिए । लामवद्ध शव वहान र शव लिन पुगेका शोकाकुल परिवारको हृदयविदारक दृश्यले विहिवार शिक्षण अस्पताल क्षेत्र भाव विहोल थियो ।
चालक दलका ३ सदस्य सहित २२ जनाको शव पोष्टमार्टमपछि विहिवार परिवारलाई जिम्मा लगाइएको हो । सम्पर्कविहिन बनेको झन्डै २१ घण्टापछि सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मानापाथी हिमालको फेद सानुसरेमा फेला थियो । विमान फेला परे लगत्तै नेपाली सेनाको लगातार खोजीकार्यपछि सोमवार र मंगलवार दुईदिन लगाएर शव काठमाडौ ल्याइएको थियो । ५ दिनदेखि शोकमा डुवेका मृतकका परिवारले शव प्राप्त गरेसँगै विहिवार नै आ–आफ्नो संस्कार अनुसार मृतकको दाहसंस्कार गरेका छन् ।
जेठ १५, २०७९ नेपाली हवाई क्षेत्रका लागि कालो दिनको रुपमा इतिहासमा रहने छ । उतm दुर्घटनाले नेपाली हवाई क्षेत्रले साहसिक र अनुभवी पाइलट प्रभाकार घिमिरेलाई गुमाएको छ । साढे दुई दशकदेखि निरन्तर हवाई क्षेत्रमा सक्रिय पाइलट घिमिरे बढि कठिन उडान सुजबुझपूर्ण ढंगले उडाउँथे । त्यस्तै हवाई क्षेत्रका सहचालक उत्सव पोखरेल र आकाशमा उड्ने सपना सहित एयर होस्टेज बनेकी एयर होस्टेज किस्मी थापाको सपना आकाशमै विलय भयो ।
धनुषा लोटाका तामाङ परिवारले एकसाथ आफ्नो सात अविभावक गुमाए । परिवारको मुली गुमाएपछि उनीहरुलाई घरको छानो खसेजस्तो भएको छ । धनुषाका तामाङ परिवारसँगै दुर्घटना परि अकालमा ज्यान गुमाएका सबैको परिवार आफन्त साथीभाई सबै पिडामा छन । अभिभावक गुमाएको पिर छ । उनीहरुको आश्रित परिवारको चिन्ता छ ।
नेपालमा वर्षेनी पटक पटक सर्वसाधरण हवाई दुर्घटनाको पीडामा पिल्सिनु परेको छ । तर यसतर्फ सरकारको ध्यानकर्षण पटक्कै भएको छैन । क्षणिक सहानुभूति बाहेक हवाई क्षेत्रको सुधारमा सरकारी संयन्त्र उत्तरदायी बन्न सकेको छैन । नागरिकको यो आँशुले सरकार र सरोकारवाला निकायलाई अझै छुन सकेको छैन ।


प्रतिक्रिया