काठमाडौँ — बजेटमाथिको छलफलका क्रममा आरोप प्रत्यारोपणमा उत्रीए सांसद, मतदातालाई प्रभावित पार्ने प्रयास भएको प्रतिपक्षको आरोप, बजेटको मूल दिशा सही भएको सत्तापक्षको जिकिर । संघिय संसदको प्रतिनिधि सभामा यति बेला जेठ १५ गते आएको बजेटमाथिको सैद्धान्तिक छलफल जारी छ । जसमा सत्ता पक्षका सांसदले बजेटको बचाउ गरेका छन भने प्रतिपक्षी दलका सांसदले चर्को विरोध गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) माथि छलफल भइरहेको छ । बजेटको छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेका दिनहरु तोकेका छन् । सरकारले ल्याएको आगामी आवको बजेटबारे विभिन्न टिप्पणी भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ छ । यता सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । डा. रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा कायम रहेको बताउँदै यसको सामनाका लागि सबै गम्भीर छलफलमा आएर आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने खाँचो औँल्याए ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ दिँदै डा रिजालले अघिल्लो सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा संसद् बाहिरबाट ल्याएको बजेट र हालको बजेटको तुलना गर्न उपयुक्त नहुने बताए ।त्यस्तै, सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् । पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित भई रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले बजेट समयकै कार्यान्वयन भएर सफल हुने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेकोे बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दुको रुपमा रहेको बताए । उनले बजेटले नीजि क्षेत्रलाई बिकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको दावी गरे । सांसद चौधरीले मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगालिएको भन्दै यसो हुनु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको आरोप लगाए । आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको उनको तर्क छ । संसदमा राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल भइरहेको छ । बजेटको छलफल बुधबार र विहिबार पनि निरन्तर हुने छ ।


प्रतिक्रिया