आइतवार भएको विमान दुर्घटनासँगै नेपालमा हवाई सुरक्षाबारे बहस पुनः तात्तिएको छ । पीडादायी हवाई दुर्घटना न्यूनीकरणमा निजी क्षेत्रसँगै सरकार समेत उदासिन बन्दा नेपालको उडड्यान क्षेत्रमा थप नेपाली आकाश असुरक्षित छ भन्ने चर्चा पुरानो हो । हवाई दुर्घटना र हवाई सुरक्षाको विश्वव्यापी मापदण्ड परिपालना नगरेको भन्दै नेपाललाई युरोपेली संघ इयुले प्रतिवन्ध लगाएको वर्षौ भयो । सरकारले प्रतिवन्ध फुकुवा गर्न निरन्तर लविङ गरिरहेकै बेला आइतवार भएको अर्को विमान दुर्घटनाले फेरी झस्काएको छ ।
आइतवार पोखराबाट जोमसोमका लागि उडेकोे तारा एयरको जहाज मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त बन्यो । चालक दलका तीन सदस्य सहित २२ जनाले एकसाथ ज्यान गुमाए । पटक–पटक हुने दुर्घटनाका कारण हवाई सुरक्षामा प्रश्न उठे पनि यसको सुधार गर्न न त सरकार अग्रसर छ नत नीजि क्षेत्र नै ।
आइतवार भएको विमान दुर्घटना खराब मौसमका कारण एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सरकारले विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरिसकेको छ । मंगलवार नेपाल नागरिक उड्यन प्राधिकरणले प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा भएमात्रै विमानलाई उडान अनुमति दिने निर्णय समेत गरेको छ ।
प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको छ । तर यो कति प्रभावकारी कार्यन्वयन हुन्छ भन्न मुस्किल छ । तथापी सरोकारवाला भने यो स्वीकार गर्न तयार छैन्न । क्रमिक रुपमा हवाई क्षेत्रको सुधारमा आफुहरु सक्रिय रहेको र उल्लेख्य सुधार समेत आईरहेको वायुसेवा सन्चालकहरुको तर्क छ ।
यता विज्ञहरुले मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटनाहरु पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको उल्लेख गर्दै विज्ञहरुले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन ।
विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन हुनुपर्ने बताउँदै जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्व सूचना प्रणालीलाई प्राथमिकता नदिएको विज्ञको टिप्पणी छ ।
पिडादायी विमान दुर्घटना आम नेपालीका लागि नयाँ होइन । प्रत्येक वर्ष साना–ठुला जहाज दुर्घटना भएकै देखिन्छ । सन् २०१९ फेव्रुवरीमा एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङ पाथीभरानजिकै दुर्घटना भयो । दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भयो । त्यहि वर्ष अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको विमान धावनमार्गमै हेलिकप्टरसँग टोक्केर दुर्घटना भयो ।
सन् २०१८ मार्चमा बाङ्ग्लादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा प¥यो । २०१८ कै सेप्टेम्वरमा गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटकको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । यी सबै दुर्घटनाहरुको अध्ययन समिति बन्छ, अध्ययन हुन्छ, तर नत दुर्घटनाको कारण सार्वजनिक हुन्छ, नत दुर्घटना न्यूनिकरणको उपाय नै ।
नेपालको हवाई क्षेत्रमा प्राधिकरणको एक्लो रजगजका कारण नेपालको उड्यान क्षेत्रमा सुधार आउन नसकेको विश्लेषण समेत नभएको होइन । तर यस क्षेत्रको सुधारका लागि सरोकार निकायले ठोश कदम चल्न नसक्दा पटब पटक त्रासदिपूर्ण दुर्घटना भोग्न नागरिक बाध्य छन् ।


प्रतिक्रिया