काठमाडौँ — नेपालमा गणतन्त्र घोषणा भएको आज १५ वर्ष पुगेको छ । गणतन्त्रको डेढ दशकसम्म आइपुग्दा आम नागरिकले भने खासै यसको अनुभूति गर्न सकेका छैनन् । आज जेठ १५ अर्थात् गणतन्त्र स्थापना भएको दिन । राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको १५औँ बसन्तसम्म आइपुग्दा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो ।
१९ दिने जनआन्दोलन हुँदै निर्वाचित संविधानसभाको बाटो भएर आएको गणतान्त्रिक व्यवस्था लागू भएको १५ वर्ष पूरा भएको छ । नेपालमा २ सय ४० वर्षदेखि चलिआएको राजतन्त्रात्मक शासकीय परम्पराको अन्त्य गर्दै देशको शासनसत्ताको साँचो नागरिकको हातमा आइसकेको छ । नेपालमा शासन व्यवस्था फेरिए पनि सत्तामा हुने व्यक्ति भने तिनै नेता हुँदा जनता अथवा भुईमान्छेले भने खासै गणतन्त्रको महसुस गर्न पाएका छैनन् । मुलुकको विविधता, तत्काल विद्यमान असमनाता र जटिलता सम्बोधन गर्ने प्रयासमा भएको व्यवस्था परिवर्तनमा नागरिकले यसको अपनत्वको अनुभूति गर्न नपाएको गुनासो गरे ।
गणतन्त्र स्थापनासँगै आमनागरिक र नेतृत्वबीचको दूरी घट्ने अपेक्षा थियो । तर, राजनीतिक नेतृत्वले राजा÷महाराजाकै सिको गर्न थालेपछि जनतामा झन् यो व्यवस्था नै गलत हो कि भन्ने भान परेको पनि देखिन्छ । धेरै ठूलो बलिदान र त्यागले ल्याएको व्यवस्थामा पनि जनता सत्तामा बसेकाको कामबाट सन्तुष्ट हुन सकेका छैनन् । गणतन्त्रपछिका सरकारहरु जनमुखी काममा लाग्नेछन्, भ्रष्टाचार हट्नेछ, मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ, पसिना बगाउन विदेशिनुपर्ने छैन, यही भरोसाका साथ आमनागरिक जनआन्दोलनमा सहभागी भएका थिए ।
तर, हालको ताजा अवस्था भने यसको ठ्याक्कै उल्टो भएको छ । नेताहरूको सुविधाभोगी प्रवृत्ति झन्झन् बढ्दो छ । गरिबी र महँगी बढ्दो छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, रोजगारजस्ता आधारभूत आवश्यकता परिपूर्तितर्फ तीनवटै सरकार केन्द्रित हुन सकेको छैन । राजनीतिक र प्रशासनिक परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना भएको केही छनक पाइए पनि व्यवहार, सोच, शैली र भुइँमान्छेको जीवनस्तरमा १५ वर्षको अभ्यासले तात्विक फरक परेको छैन । जसले गणतन्त्र दिवस एक औपचारिकताभन्दा बढी माथि उठ्न सकेको छैन ।


प्रतिक्रिया