काठमाडौँ — कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । आज बिहान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कबिहीन भएको हो । तारा एयरकाअनुसार विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा छन् । उक्त जहाजमा १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक थिए ।
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । कास्कीको पोखरा विमानस्थलबाट विहान ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको तारा एयरको विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज किस्मी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ । मुस्ताङको जोमसोम विमानस्थलमा जानका लागि उडान भरेको यो विमानले उडान भर्दा मौसम राम्रै रहेको थियो भने त्यसअघि पनि दुई उडान भएका थिए । तारा एयरको जहाज र समिट एयर जहाज पोखराबाट बिहान सँगसँगै जस्तो उडेका थिए । जहाज उड्ने बाटोको मौसम सफा भएकाले भीएफआर (भिजुअल फ्लाइट रुल्स) हेरेर जहाज उडाउने विधि अनुसारै उडाईएको बताईएको छ ।
फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो । सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए । समिटको जहाज ल्यान्ड भएपनि पछि आइरहेको ताराको जहाजलाई पनि ल्यान्डिङका लागि सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बताईएको छ । समिट एयरले आइतबारै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो । पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन् ।
उडान भरेको १२ मिनेटपछि १० बजेर ७ मिनेटमा पछिल्लो पटक यो विमानको जोमसोमको विमानस्थलको रडारसँग सम्पर्क भएको थियो । विमान पहिले मुस्ताङको घासा क्षेत्रमा दुर्घटना भएको अपुष्ट खबरहरु बाहिरीएका थिए । स्थानीयले ठुलो आवाज र धुवाको मुस्लो देखेको खबर बाहिरिदाँ लेते क्षेत्रमा पनि खोजी टोली परिचालन गरिएको थियो भने नागरिक उड्डयन प्राधिकरणले भने न्याउरीकोटमा स्थानीयले दुर्घटनाको सुचना दिएको भन्दै सम्भावित क्षेत्रमा जनशक्ती परिचालन गरिएको बताएको थियो ।
विमान वेपत्ता भएपश्चात ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर संकेत’ फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको थियो । संकेतानुसार जहाज केही वस्तु वा पहाडमा ठोक्किएको देखिएको र जहाज ठोक्किएको आशंका गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने बताईएको थियो । पछि तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएपछि लोकेसन ट्रयाक गरेर खोजी कार्य अघि बढाईएको हो ।


प्रतिक्रिया