काठमाडौँ — संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गरिरहेका छन् । आज बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका थिए । अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको बताए । उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरेका हुन् ।
यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उनले बताए । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे । अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराए । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताईएको छ ।


प्रतिक्रिया