Breaking

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुको आरोप–प्रत्यारोप, मंहगी नियन्त्रमा मौन रहेकोमा रोष

योहो संवाददाता

काठमाडौँ — संघीय संसदको राष्ट्रिय सभा बैठकमा पनि आज सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ । सांसदहरुले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणाहरु प्रश्तुत गरेका हुन् ।

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै संयुक्त संशोधन कर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको भन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले नीति तथा कार्यक्रमको बुँदा १३५ मा राखिएको वस्तुगत आधार भनेको सबै जनताले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) हुँ भन्नुपर्ने हो भन्दै प्रश्न गरे ।

त्यस्तै राष्ट्रिय सभा सदस्य डा.वेदुराम भुसालले अघिल्लो सरकारले बाँडेका सपना जस्तो नभइ सपना चिर्ने गरेर नीति तथा कार्यक्रम आएको बताए । उनले सरकारले नयाँ उद्योग खोल्ने नीति कार्यक्रम नल्याएको, कृषि उपजमा उद्योग खोल्ने नीति नबनाएको, जडिबुटीको खेती, प्रशोधन गर्ने उद्योगहरु खोल्न ध्यान नदिएको बताए । उनले नेपालमा अब मल कारखाना खोल्न सक्नुपर्ने धारणा राख्नुभयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान नगएको, विद्युत उपयोगमा नीति ल्याउन नसकेको, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो फिर्ता ल्याउँछौँ भन्न नसकेको बताए । त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सरकारको नीति तथा कार्यक्रममा बाली बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले ठूला शहरमा भएका फोहारबाट मोहोर निकाल्न सक्ने गरी नीति ल्याउनुपर्ने बताइन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले केही मन्त्रालयहरुले वडा तहका कामलाई पनि आफ्नो अधिनमा राख्नु दुखद् भएको बताए । उनले नीति तथा कार्यक्रममा बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता नदिएको गुनासो गरे । उनले सरकारले हरेक वर्ष नीति अनुसार काम नगर्दा विमानस्थल तुहिएर जान्छ कि भन्ने डर पैदा भएको बताए । त्यस्तै राष्ट्रिय सभामा सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा भाग लिएका अन्य सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रतिपक्षी दलका सांसद्हरु चर्को आलोचनामा उत्रिदाँ सत्तापक्ष सांसदहरु भने कार्यक्रमको बचाउमा उत्रिएका थिए । राष्ट्रिय सभाको बैठक सरकारले प्रश्तुत गरेका नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले शुक्रवार ११ बजेका लागि पुनः बोलाइएको छ ।