Breaking

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगम घेराउ

योहो संवाददाता

काठमाडौँ — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए ।

उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरको आरोप छ । उनीहरुले जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको बताए । सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।