Breaking

पछारियो एमाले, दम्भ देखाएपछि आफ्नै गढ भत्किए, बालेनका अघि तंग्रिएनन् स्थापित,नेता भन्छन्–मत यथावत्


काठमाडौँ— स्थानीय तह निर्वाचनमै पहिलो दल बन्ने दाबी गरेको नेकपा एमाले परिणामतः दोस्रो बन्ने पक्का भएको छ । तर एमाले नेताहरु आफ्नो परिणाम यथावत् रहेको रुपमा समीक्षा गरिरहेका छन् । सत्ताको आडमा जनतालाई आडम्बर देखाएपछि कसरी दण्ड पाइन्छ, नेकपा एमालेलाई हेरे हुन्छ । किनकि गत निर्वाचनमा २९४ स्थानीय तहलाई हातमा लिएको एमाले अहिले झण्डै एक सय स्थानीय पालिकाहरु गुमाउँदैछ । केन्द्रीय सत्ता हुँदै प्रदेश र अब स्थानीय तहमा समेत एमाले कमजोर बनेको छ । मुलतः अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र दम्भकै कारण आफ्ना गढहरु गुमाउनु परेपनि नेताहरु नेतृत्वलाई सच्याउन हच्किरहेका छन् ।

विगतमा काठमाडौं र पोखरा महानगर पनि एमालेकै हातमा थियो । अहिले महानगरबाट समेत हात धुनुपर्ने देखिएको छ । पोखरामा गठबन्धनको तर्फबाट एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य अहिले एमालेसँग प्रतिस्पर्धामा मात्रै छैनन्, जित नजिक पनि छन् । यता देशको केन्द्र भागमा रहेको काठमाडौं महानगरमा समेत एमालेले नेतृत्व गुमाउँदैछ । स्वतन्त्र बालेन शाहले एमालेको गढ भत्काइदिएपछि मेयरका उम्मेदवार केशव स्थापित झण्डै दोब्बर मतले पछि परेका छन् । यहाँ पनि नेताहरुले नेतृत्व पाउने आश मारिसकेका छन् ।

अब झण्डै ६० पालिकाको मत परिणाम आउन बाँकी रहेका बेला एमालेले १८८ पालिकामात्रै जितेको छ भने १८ पालिकामा अग्रता लिइरहेको छ । यसले अधिकतम्मा दुईसय हाराहारी स्थानीय तह एमालेको पोल्टामा पर्ने देखिन्छ । एमालेपछि परेको फाइदा सबैभन्दा बढी नेपाली काँग्रेसले लिएको छ । ३०७ स्थानीय तहमा निर्वाचित काँग्रेसले २० अग्रता लिइरहेको छ । यसर्थ पनि काँग्रेसले अझै १५÷सीट जित्ने निश्चित छ । विगतमा तेस्रोमा खुम्चिएको माओवादी अहिले पनि तेस्रो नै बन्दैछ । तर केही सिट थपेपछि माओवादी पनि नाफामै परेको विश्लेषण भइरहेका छन् । तर एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादी र एमाले स्वयंम् परिणामबाट पछि परेका छन् ।

यसलाई विभाजनको असरका रुपमा समेत विश्लेषण गरिएको छ । यद्यपी एमाले नेताहरु आफ्नो मत यथावत् रहेको रुपमा समीक्षा गरिरहेका छन् । भन्न त, निर्वाचनअघि एमाले अध्यक्ष ओलीले सबै स्थानीय तहमा गठबन्धनलाई कर्याककुरुक बनाएर पहिलो बन्ने दाबी गरिरहेका थिए । तर उनको भनाइ अनुसार मतदाताले मत दिएनन् ।झन पाँच दलीय गठबन्धन एकातिर उभिँदा अर्कातिर उभिएको एमालेलाई परिणाम निकाल्न निकै सकस प¥यो । यसको प्रभाव संसदीय निर्वाचनमा समेत पर्ने देखिएपछि एमालेका नेताहरु आगामी समीकरणका लागि गृहकार्यमा जुटेको चर्चासमेत चलिरहेको छ ।