काठमाडौँ — भारतको मध्यप्रदेशस्थित रतलाम जिल्लाका एक वृद्ध मुस्लिम भएको आरोपमा कुटिएको केही घण्टापछि मृत फेला परेका छन् । उनलाई भारतीय जनता पार्टीका स्थानीय नेताले निर्घात कुटेका थिए । ६५ वर्षीय भंवरलाल जैनलाई भाजपाका नेता दिनेश कुशवाहाले निर्घात कुटेको भिडियो सार्वजनिक भएको भोलिपल्ट शुक्रबार साँझ निमच जिल्लाको रामपुरा रोडमा प्रहरीले मृत फेला पारेको हो । भारतीय मिडियाका अनुसार मृतक भंवरलाल रतलाम जिल्लाको छिमेकी सिर्सा गाउँका अगुवा जैनका छोरा थिए ।
भारतीय मिडियाका अनुसार उक्त भिडियो आरोपित भाजपाका दिनेश कुशवाह आफैंले मे २० मा स्वच्छ भारत नामको ह्वाट्सएप समूहबाट अपलोड गरेका थिए । साथै उक्त भिडियो अन्य सामाजिक सञ्जालमा पनि विस्तार भएको छ । निमच जिल्ला प्रहरी निरीक्षक सुरज वर्माका अनुसार उक्त घटनाबारे दिनेश कुशवाहासहित दुई जनामाथि मुद्दा दर्ता भएको छ । एकमध्ये उक्त भिडियो खिच्ने व्यक्ति पनि छन् ।
आरोपित दिनेश कुशवाहा भाजपासँग सम्बद्ध संगठनमा रहेको बताइन्छ । साथै उनी निमुचस्थित भाजपा युवा शाखाको स्थानीय कार्यकारी रहेको बताइएको छ । साथै उनकी पत्नी मनसा नगरको यसअघिको परिषद्मा रहेकी थिइन् । साथै भिडियो खिच्ने आरोपित पनि भाजपासँग आवद्ध रहेको बताइएको छ । एजेन्सी


प्रतिक्रिया