Breaking

पाङबोचे स्वास्थ्य चौकी निर्माण अन्तिम चरणमा

योहो संवाददाता

काठमाडौँ — सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको वडा नम्बर ४ स्थित पाङबोचेमा स्वास्थ्य चौकी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुविधा सम्पन्न स्वास्थ्यचौकी बनाउने उद्देश्यले निर्माण थालिएको उक्त स्वास्थ्य चौकीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । वि.स. २०७८ जेष्ठ २४ गते निर्माण सम्झौता भएको यो योजना आगामी २०७९ मंसिर २४ सम्म सम्पन्न गरिसक्नु पर्नेछ ।

तर निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले समयसीमा अगावै निर्माण सम्पन्न गरिसक्ने तयारी थालेको छ । सम्झौताको समय आधा नै बााकी रहँदा भवनका अधिकांश काम सम्पन्न गरिसकेको छ । हालसम्म ९० प्रतिशत कार्यसम्पन्न भइसकेको निर्माण प्रतिनिधि दिनेश मगरले जानकारी दिनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको बजेटमा उक्त स्वास्थ्यचौकी निर्माण भइरहेको हो ।

यो भवन निर्माणका लागि भ्याट बाहेक निर्माण कम्पनीसंग सरकारले ३ करोड ६९ लाख रुपैयाँ सम्झौता गरेको छ । उक्त स्वास्थ्य चौकी निर्माण भएपछि एमबिबिएस डाक्टर व्यवस्थापन गरी पाङबोचेका स्थानीय तथा पर्यटकलाई स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । वडाध्यक्ष अधिकारीको सक्रियतामा उक्त योजना आवश्यकताका आधारमा पाङबोचे पुर्याउन सफल भएको हो । उक्त स्वास्थ्य चौकी निर्माणका लागि जग्गा व्यवस्थापनमा गाउँपालिकाले समन्वय गरेको हो ।