Breaking

युक्रेन युद्धले अर्थतन्त्रमा समस्या आयो: मन्त्री शर्मा

योहो संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले देशको आर्थिक स्थितिमा समस्या आएको बताउनुभएको छ । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले कोभिड–१९ कोरोना भाइरसको प्रभाव, बेमौसमी वर्षा र रुस–युक्रेनबीचको द्वद्वको प्रभावले नेपालको अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । उहाँले विभिन्न समस्याका बाबजुद पनि चालु आर्थिक वर्षमा ५ दशमलव ८४ प्रतिशतको आर्थिक वृद्धि दर हासिल हुनेमा खुसी मान्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिए पनि विविध समस्याले गर्दा लक्ष्य भेट्ने स्थिति नरहेको तर सबै मिलेर आर्थिक सुधारमा, उत्पादनमा केन्द्रित हुने हो भने आकर्षक आर्थिक वृद्धि दर हुनेमा कुनै द्विविधा छैन । अहिलेको मुख्य चुनौतीको विषय आयात नै रहेको छ, कसरी हुन्छ उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने उद्देश्यमा सरकार लागेको छ । आफ्नै खेतबारीमा उत्पादन हुने कृषिजन्य उत्पादनसमेत आयात भइरहेको छ, अब यस्तो आयातलाई कम गर्दै उत्पादनमा जोड दिने गरी सरकार अघि बढेको छ ।’

अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समयमै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तीव्र गतिमा अगाडि बढ्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सही नीति बनायो, जिम्मेवार भयो, बनाएका नीतिबारे सबै जवाफदेही भयौँ भने नेपालको आर्थिक वृद्धि तीव्र गतिमा अगाडि बढ्ने सम्भावना छ । हाम्रो गार्हस्थ्य उत्पादन, पुँजी निर्माण पनि अझ तीव्र गतिमा अगाडि बढ्ने सम्भावना छ । अहिले धेरै समस्याका बाबजुद पनि अघिल्लो आर्थिक वर्षमा २५ हजार तीन सय वटा कम्पनी दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको वैशाखसम्ममा २६ हजार सात सय ५० वटा कम्पनी पुगेका छन् ।’

मन्त्री शर्माले एमाले सांसद् योगेश भट्टराईले बजेटको सिद्धान्त तथा प्राथमिकता कसको सिद्धान्तको हो भन्ने प्रश्नको जवाफ दिँदै आफूले ल्याएको सिद्धान्त फुकुवानको सिद्धान्त नभएको बताउनुभयो । उहाँले आफूले ल्याएको सिद्धान्त नेपाली जनताले विकसित गरेको नेपालीहरूको मौलिक सिद्धान्त, नेपाली राजनीतिक पार्टीहरू, नेताहरूले संश्लेषण गरेको मौलिक सिद्धान्तको आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशी, समानुपातिक लोकतन्त्रको सिद्धान्तमा आधारित भएको दाबी गर्नुभयो । अर्थमन्त्री शर्माले पालिकासम्म कालोपत्र गर्ने योजनाको फुकुवा आफू अर्थमन्त्री भएपछि गरेको दाबी गर्नुभयो । अघिल्लो सरकारले योजनामा सहयोग गर्ने दाता हुँदा समेत सङ्घीय सरकार वा प्रदेश सरकार कसले गर्ने विवाद गरेर राखिएको काम आफूले प्रदेश सरकारलाई गर्न दिएको मन्त्री शर्माले बताउनुभयो । उहाँले अहिले आफू विगतका सरकारले गरेका राम्रा योजना खोजेर कार्यान्वय गर्ने काम गरेको तर राम्रा योजना कटौती नगरेको बताउनुभयो ।

मन्त्री शर्माले अब सरकारले पुँजीगत खर्च बढाउनका लागि विकास निर्माणको टेन्डर पैसामा नभएर समयमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अहिलेसम्म पैसामा प्रतिस्पर्धा गराएकाले समयमा काम सम्पन्न र गुणस्तर नभएको दाबी गर्नुभयो । मन्त्री शर्माले अहिले चालु खर्चलाई धान्ने स्रोत पनि सङ्कलन भएको राजस्वबाट मुस्किलले धान्ने गरेको बताउनुभयो । उहाँले सानो आकारको पुँजीगत खर्चमा बजेट छुट्याउने त्यसमा पनि विगतका आयोजनाको दायित्व चार गुणा बढी रहेको बताउनुभयो । मन्त्री शर्माले विगतका आयोजनाको दायित्व धेरै भएकाले आउँदो बजेटमा नयाँ योजना राख्ने कल्पना गर्न नसकिने अवस्था रहेको बताउनुभयो । उहाँले बजेटको सीमाभित्र मात्रै काम गर्न खोज्दा त्यसबाट गुणात्मक विकास सम्भव नभएको दाबी गर्नुभयो ।