काठमाडौँ — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा वातावरणमैत्री विद्युतीय यातायातका साधन सञ्चालनका लागि तत्काल काम थालिने भएको छ । दोस्रो पटक गाउँपालिका अध्यक्ष भई कार्यभार सम्हाल्दै असिम राईले गाउँपालिकाको जनताको सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने र त्यस्का लागि तत्काल चार्जिङ स्टेशनहरु तयार पार्ने बताउनुभएको हो ।
पेट्रोलियम पदार्थको महंगी भएको र वातावरणलाई समेत प्रदुषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय सवारी साधन सञ्चालनलाई जोड दिइने बताउनुभयो । गाउँपालिकको सबै वडा तथा टोलहरुमा सडक विस्तार भइसकेकाले विद्युतीय सवारी साधन सञ्चालनका लागि आफूहरु नमुनायोग्य काम गर्न आतुर रहेको बताउनुभयो ।
यस्तै अध्यक्ष राईले गाउँपालिका अध्यक्षलाई प्राप्त हुने तलब सुविधा गाउँपालिकाकै जेहेन्दार विद्यार्थीलाई डाक्टर पढाउन खर्च गर्ने निर्णय गर्नुभएको छ । एबीबीएस अध्ययनका लागि एक जना जेहेन्दार विद्यार्थी छनौट गरि यही वर्षदेखि तलवसुविधा खर्च गर्ने अध्यक्ष राईको भनाई छ । उहाँ गाउँपालिकाको अध्यक्षमा भारी मत सहित पुन ५ वर्षका लागि निर्वाचित हुनुभएको छ ।


प्रतिक्रिया