खेलकुद

२५ वर्ष पछि युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड


काठमाडौँ – यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा युक्रेनलाई हराउँदै इङ्ग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वफुटबलकै महारथी मानिने इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को जित निकाल्दै २५ वर्षपछि पहिलो पटक युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

इटलीको रोमस्थित स्टेडियो ओलम्पिककोमा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले सुरुबाटै खेलमा दवाब बनाएको थियो। खेलको चौथो मिनेटमा रहिम स्ट्रलिङको पासमा गोल गर्दै कप्तान ह्यारी केनले अग्रता बनाए । त्यस्तै पहिलो हाफमा एक गोलले अघि इङ्ग्ल्याण्डका लागि ह्यारी म्यागुएरले ४६ औं मिनेटमा अग्रता दोब्बर बनाए । त्यस्तै ५० औं मिनेटमा ह्यारी केनले अर्को गोल थपे । त्यस्तै खेलको ६३ औं मिनेटमा म्यासन माउन्टको पासमा जोर्डन हेण्डर्सनले गोल गर्दै इङ्ग्ल्याण्डको फराकिलो जित सुनिश्चित गरे ।

योसँगै जारी प्रतियोगितामा कुनै गोल नखाइ इङ्ग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । त्यसमा पनि १९९६ पछि पहिलो पटक युरोकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब सेमिफाइनलमा इङ्ग्ल्याण्डले डेनमार्कको सामना गर्नेछ ।