Breaking

बालने फेरि अध्यादेशकै बाटोमा, प्रतिपक्षको घेराबन्दी, निजामती र शिक्षा विधेयकमा जालझेल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– संसद्को चालु अधिवेशन अबको केही दिनमा अन्त्य हुँदै छ । सरकार गठन भएको ४५ दिनभित्र सङ्घीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक ल्याउने भनिएको थियो । तर, सरकार बनेको ६ महिना बितिसक्दा पनि यी दुई महत्त्वपूर्ण विधेयक नआएपछि सरकारले कतै संसद् अधिवेशन अन्त्य गर्दै अध्यादेश त ल्याउँदै छैन भन्ने संशय उब्जिएको छ । त्यसैले अहिले प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक किन आएन भन्ने प्रश्न जोडदार रूपमा उठेको छ । सरकारले १०० बुँदे कार्यसूचीको प्राथमिकतामा राखेको र ४५ दिनभित्र ल्याउने घोषणा गरेको यो विधेयक अहिलेसम्म किन आएन भनेर सांसदहरूले सरकारलाई ¥याख¥याख्ती पारिरहेका छन् । उनीहरूले सङ्घीय संसद्को चालु अधिवेशन हतार–हतार अन्त्य गरेर सङ्घीय निजामती सेवासम्बन्धी अध्यादेश ल्याउन लागिएको त होइन भन्दै कडा शङ्का व्यक्त गरेका छन् । ‘निजामती सेवा ऐन जुन किसिमले अध्यादेशबाट ल्याउने कुरा गरिएको छ, यो आफैँमा विडम्बना हो । संसद् छलेर किन निजामती ऐन अध्यादेशबाट ल्याउन खोजियो ?’ भन्दै नेपाली कम्युनिस्ट पार्टीले प्रश्न तेर्साएको छ ।