खेलकुद

युरोकपको नकआउट चरणका १६ टिमको टुंगो लाग्यो,रोनाल्डोले गरे सर्वाधिक गोल


युरोकप फुटबलमा नकआउट चरणका १६ टिमको टुंगो लाग्यो, रोनाल्डोले गरे सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी

काठमाडौँ – युरोकप फुटबलमा समूह चरणको खेल सकिएसँगै १६ टिमले नकआउट चरणमा स्थान बनाएका छन् ।

६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।

नकआउट चरणका खेल शनिबारबाट सुरु हुनेछ । असार १२ गते वेल्स र डेनमार्क तथा इटाली र अस्ट्रियाले प्रतिष्पर्धा गर्नेछन् । १३ गते नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल भिड्नेछन् । यस्तै, १४ गते क्रोएसिया र स्पेन तथा फ्रान्स र स्विट्जरल्यान्ड भिड्नेछन् । १५ गते इंग्ल्यान्ड र जर्मनी तथा स्विडेन र युक्रेनले प्रतिष्पर्धा गर्ने छन् ।

यसैबीच, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन् । फ्रान्सविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन् । रोनाल्डोले इरानका स्ट्राइकर अली दाइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका हुन् । अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए ।