खेलकुद

फिफा विश्वकप तथा एसियन कपको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित


काठमाडौँ – फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।कुवेतमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई तथा याजन अल अरबले एक गोल गरे ।

यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३–० ले नै हराएको थियो । जितसँगै समूह बी को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने कायमै रहेको छ ।