मौसम

‘ताउ ते’ चक्रवातको प्रभाव नेपालमा, केही भागमा उच्च वर्षाको सम्भावना


काठमाडौँ – अरब सागरमा विकसित ‘ताउ ते’ चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन सक्रिय भएकाले सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।

अरब सागरमा देखिएको चक्रवातका कारण नेपालको मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने मौसमविदको भनाइ छ ।

शुक्रबारसम्म चक्रवातको असर नेपालको मौसममा देखिने र शनिबारदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले दाबी गरेको छ । महाशाखाका अनुसार मंगलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ ।

बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ । अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्नसमेत महाशाखाले सचेत गराएको छ ।

अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा उत्रने सो चक्रवातको असर पनि नेपालको पश्चिमी भेगमा बढी पर्नेछ । गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको दाबी छ ।