मौसम

लुम्बिनी र मधेश प्रदेशमा तातो हावाको लहर चल्ने चेतावनी

योहो संवाददाता

काठमाडौं— पानी पर्ने क्रम रोकिएसँगै तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै मधेशका आठवटै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी तथा लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा तातो हावाको लहरको चेतावनी दिएको हो ।

विभागले आगामी तीन दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियभन्दा माथि रहने आकलन गरेको छ । मधेश र लुम्बिनीका तराईमा तातो हावाको लहर चल्ने चेतावनी दिइएको छ । एक सातायता बढेको गर्मीले तराई मधेशको जनजीवन प्रभावित भएको छ ।

बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि सर्वसाधारणको दैनिकीमा असर पर्न थालेको छ । काठमाडौंसहित पहाडी क्षेत्रमा भने वर्षा हुँदा राहत भएको छ । आज हिमाली र पहाडी भूभागमा थोरै स्थानमा वर्षाको सम्भावना छ ।