जिल्लाका सार्वजनिक बेथिती र सरोकारका विषयमा खरो आवाज उठाउने युवराज खड्का सोमबार बिहान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार उनलाई पक्राउ गरि थप अनुसन्धान गर्ने तयारी गरिएको छ ।
जेनजी सल्यानको संयोजकसमेत रहेका खड्काले विगत लामो समयदेखि जिल्लाको कर्मचारीतन्त्र, प्रशासनिक संयन्त्र र जनप्रतिनिधिहरुले मच्चाएको बेथितीविरुद्ध खरो आवाज उठाउँदै आएका थिए । केही समयअघि मात्रै खड्काकै खबरदारीमा नक्कली च्याट बनाएर चन्दा आतंक र जिल्ला प्रशासनभित्रै घुसखोरी मच्चाउने नायब सुब्बा पक्राउ परेका थिए ।
पछिल्लो समय जिल्लाका केही जनप्रतिनिधि र तस्करहरुको मिलेमतोमा कालीमाटी लगायतका क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको विषयमा लगातार आवाज उठाइरहेका थिए । तर काठ व्यवसायीसमेत रहेका बागचौर नगरपालिका सल्यानका मेयर जनकराज गौतम लगायतका व्यक्तिले काठ तस्करीसँग आफुलाई जोडेर चरित्र हत्या गरेको भन्दै साइबर अपराधको मुद्दा दायर गरे । जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालिन प्रमुख डा. हेमबहादुर केसीले सार्वजनिक चासोको विषयमा आवाज उठाएकै कारण मुद्दा दायर गर्ने आधार कमजोर रहेको बताएपछि सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई दबाब दिएर जाहेरी दर्ता गरिएको थियो । त्यसपछि तस्करहरुको समूहले डीएसपीकै सरुवा गराएर भएपनि खड्कालाई पक्राउ गर्नुपर्ने अभियान चलाएको स्वंयम् खड्काले सार्वजनिक गरेका थिए । डीएसपी केसीको सरुवा भएर त्यसपछि दीपक पातली जिल्ला प्रहरीको नेतृत्वमा आए । उनी आएको केही समयमै खड्कालाई पक्राउ गरिएको हो ।
सल्यानमा काठ तस्करीको विषय आजको मात्रै होइन, विगतदेखि नै केही गिरोहले योजनाबद्ध रुपमा यसरी तस्करी गरिरहेको आरोप छ । तर त्यसको निष्पक्ष अनुसन्धान न प्रहरी गर्न सक्यो, न वन कार्यालयबाटै यसको रोकथाम हुन सकेको छ । बरु सबैको मिलेमतोमा काठ तस्करी गरिरहेको आरोप छ । त्यही विषय खड्काले लामो समयदेखि उठाइरहेका थिए । अहिले पनि जेनजी युवा खड्का स्थानीय बासिन्दा र युवाहरुको आग्रहमा स्थलगत रुपमै पुगेर सल्यानको कालीमाटी क्षेत्रमा भइरहेको काठ तस्करीको अवस्था बुझ्ने र कुमाख गाउँपालिकामा नेपाल टेलिकमको टावर स्थापना गर्न संयोजनकारी भूमिका खेल्न खटिएकै बेला पक्राउ परेका हुन् ।


प्रतिक्रिया