खेलकुद

तीन खेल अगावै सिटी बन्यो प्रिमियर लिग च्याम्पियन


काठमाडौँ – म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि उचालेको हो ।

गएरातिको खेलमा म्यानचेस्टर युनाईटेड लेस्टर सिटीसँग २–१ ले पराजित भएको छ । युनाईटेडको ७० अंक हुँदा लेस्टरको ६६ अंक बनाएको छ । सिटीले ३ खेल अगावै ८० अंक बनाएको छ । चार वर्षमा सिटीको यो तेस्रो प्रिमियर लिग उपाधि हो ।

गत सिजन लिभरपुलले जित्दा त्यसअघि दुई वर्ष लगातार सिटीले नै प्रिमियर लिग जितेको थियो । सिटी यो सिजन च्याम्पियन्स लिग फाइनलमा समेत पुगेको छ । उसले मे २९ मा प्रिमियर लिगकै क्लब चेल्सीसँग उपाधिका लागि खेल्दैछ ।

पहिलोपटक फाइनल पुगेको सिटीलाई यो सिजन च्याम्पियन्स लिग उपाधि उचाल्ने अवसर रहेको छ ।