खेलकुद

ला लिगामा आज एथ्लेटिको र बार्सिलोना भिड्दै


काठमाडौँ – स्पेनिस ला– लिगामा आज निकै रोमाञ्चक खेल हुदैछ । आज लिग शीर्षस्थानमा रहेको एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा रहेको बार्सिलोनाबीच प्रतिष्पर्धा हुँदैछ ।
यो खेल नेपाली समय अनुसार रातको आठ बजे बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुनेछ । सिजनको करिब करिब अन्तिम चरणमा आउदा उपाधि होड निकै रोमाञ्चक स्थितिमा पुगेको छ । सिजन सकिन चार खेलमात्र बाँकी रहदाँ शीर्ष चार वटै टिमको उपाधि जित्ने सम्भावना उत्तिकै रहेको छ ।

३४ खेलमा ७६ अंकका साथ शीर्ष स्थानमा रहेको एथ्लेटिको सुरक्षित भने पक्कै छैन। एथ्लेटिकोलाई पछ्याउँदै ३४ खेलमा समान ७४ अंक सहित रियल मड्रिड र बार्सिलोना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समान खेल खेलेको सेभियाको ७० अंकसहित चौथो स्थानमा रहेको छ ।

आज हुने खेलमा बार्सिलोनालाई आफ्नो घरेलु मैदानको साथ अवश्य मिल्ने छ र यो अवसरको सदुपयोग गर्दै एथ्लेटिकोलाई हराउदै उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा हुने छ । तर एथ्लेटिकोले यदि बार्सिलोनालाई हराएको खण्डमा एथ्लेटिको मड्रिडको उपाधि यात्रा निकै बलियो बन्नेछ। यी दुईको बराबरीले रियल मड्रिलाई फाईदा पुग्ने छ ।

सन् २०१४ मा एथ्लेटिको मड्रिडले पछिल्लो पटक ला–लिगाको उपाधि चुमेको थियो। त्यस बखत पनि डिएगो सिमीओनेले बार्सिलोनाको ‘क्याम्प नौ’ मा १–१ को बराबरी खेल्दै एथ्लेटिकोलाई उपाधि दिलाएका थिए।