खेलकुद

देवदत्तको शतकमा बैंगलोरको शानदार जित


काठमाडौँ – रोयल च्यालेन्जर्सका युवा स्टार खेलाडी देवदत्त पाडिकलको शानदार शतकसँगै बैंगलोरले जारी सिजनको इन्डियन प्रिमियर लिग(आईपीएल) मा लगातार चौथो जित हात पारेको छ । बिहीबार राती भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो ।

जितका लागि राजस्थालले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६.४ ओभरमा विना कुनै विकेटको क्षतिमा पूरा गरेको हो । पाडिकलले ५१ बलमा आफ्नो आईपीएल करिअरको पहिलो शतक पूरा गरेका थिए । मुस्ताफिजुर रहमानलाई १७ औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । कप्तान विराट कोहली ४७ बलमा ६ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रन बनाएको थियो । खराब सुरुवात गरेको उसका लागि मध्य क्रमका व्याट्सम्यान शिवम दुवेले ४६ र राहुल टेवाटियाले ४० रन बनाए । बैंगलोरका मोहम्मद सिरज र हर्षल पटेलले समान तीन तीन विकेट लिएका थिए ।

जितसँगै लगातार चौथो जित निकालेको बेंगलोर ४ खेलबाट ८ अंकसहित लिगको शीर्ष स्थानमा छ । हार व्यहोरेको राजस्थान भने पुछारमा रहेको छ ।