Breaking

कार्यकर्तालाई प्रचण्डको प्रश्न : १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन सक्दैनौं ?


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धमा ज्यान गुमाउनेको अपमान गर्नेहरुको पार्टी कार्यकर्ताले प्रतिवाद गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरुको खुलेआम अपमान हुँदा पनि कार्यकर्ताहरु टुलुटुले हेरिरहेको टिप्पणी गरेका हुन् । सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मानिस मारिएका भन्ने भाष्य बनाउन खोजिएको भन्दै सशस्त्र युद्धको नेतृत्वकर्ता र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यो झुटो भएको बताए ।

‘१७ हजार प्लस दुई भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईं हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन, न लेख्ने न बोल्ने’, प्रचण्डले भने, ‘हिजो भए हामी सहन्थ्यौं त, के गर्थ्यौं, हामीले कस्तो प्रतिवाद गर्थ्यौं, कसरी गर्थ्यौं ?
गत महिना ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवक मृत्यु भएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विरोध प्रदर्शनमा सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस दुई लेखिएको ब्यानर बोकेकी थिइन् ।

माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरिसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई अपमान गर्दा मुठ्ठी उठाएर अघि बढ्न के ले रोक्यो भन्दै कार्यकर्तालाई प्रश्न गरे ।

‘हाम्रा महान राष्ट्रिय शहीदहरुलाई अपमान गरेको सहन सक्दैनौं भनेर मुठ्ठी उठाएर अगाडि बढ्न हामीलाई के ले रोक्या होला, किन जोश आइरहेको छैन हामीलाई ? प्रचण्डले भने, ‘हामी हाम्रो उद्देश्यप्रति धेरै नै उदासिन भइरहेका छौं ।’

उनले माओवादी जनयुद्धका शहीदहरुको सम्मानमा देशभरि कार्यक्रम राख्न पनि कार्यकर्तालाई निर्देशन दिए । ‘ती महान् शहीद हुन्, ती हत्यारा होइनन् भनेर देशभर कार्यक्रम राख्न हामीलाई के ले रोक्छ ? उनले प्रश्न गरे, ‘वडा–वडा, पालिका–पालिका, जिल्ला–जिल्ला, प्रदेश–प्रदेशमा राष्ट्रिय शहीद सम्मान कार्यक्रम राख्न हामीले किन ढिला गरिरहेका छौं ?

माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गरेर राज्यले आफ्नो काम गरेको भन्दै प्रचण्डले भने, ‘हाम्रा शहीदलाई अरुले सम्मान गरिदिउन् भनेर पर्खेर बस्ने होइन, हाम्रा शहीदलाई हामीले सम्मान गर्नुपर्‍यो नि ।’