काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि ठूला भनिएका दलहरुले मौका पाइरहेका छन् । रविको विवादले रास्वपामै संकट देखाएर कांग्रेस, एमालेलाई उत्साह नै थपेको छ ।
रवि लामिछाने विभिन्न विवादमा फस्न थालेपछि विकल्प भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीमै दाग देख्न थालेका ठूला भनिएका पार्टीका नेताहरु हौसिएका छन् । पार्टी निर्माणको ६ महिनामै अभुतपूर्व सफलता पाएर २० सिटसहित संसदको चौथो दल बनेको रास्वपाको भविश्यमै सभापति लामिछानेको एकपछि अर्को विवादले प्रश्न उठ्न थालेको छ । फलस्वरुप पुरानै पार्टीका गलत निर्णयमा समेत साक्षी बसेर भएपनि त्यही पार्टीमा भविश्य खोज्ने दोस्रो पुस्ताका नेताहरु उत्साहित बनेका छन् । विकल्पमा जति बढी दाग लाग्छ त्यति बढी फाइदा उनै पुराना दलहरुलाई हुनेछ ।
गत असोजमा लामिछानेले ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफूजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका थिए । यसबीचमा जनताले देखाएको ब्यालेट विद्रोहबाट ठूला दलहरु डराउनु पर्ने हो । तर, आफूलाई खबरदारी गर्ने दल असफल भए थप रजाईँ गर्ने उत्साह पुराना दलहरुमा थपिएको छ । कांग्रेस एमालेलाई त रवि पटक–पटक विवादमा पर्न थालेपछि उत्साह नै मिलेको छ ।
रास्वपा र रविलाई भगौडा भनिरहँदा वर्षौंदेखि देशमै जुका टाँसिएझैँ टासिएर बसेका कांग्रेस र एमालेले जनताको अवस्था परिवर्तनका लागि के कस्ता काम गरे ? प्रश्न अनुुत्तरित छ । अब कांग्रेस, एमाले र माओवादीले काम गर्छन् भन्ने भ्रम पनि जनताले बिर्सिदै गएका छन् । रवि लामिछाने भने यो व्यवस्थाका हाइज्याकरहरुलाई चुनावबाट हराउने आँट जनताले गरे मात्रै पनि देश बन्ने बताउँछन् । यो व्यवस्थाको भाइरसकै रुपमा ठूला दलहरुलाई देखेका उनी राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि मात्रै देश बन्न सुरु हुने जिकिर गर्छन् ।
नागरिकता, राहदानीदेखि सहकारी विवादमा रविकै नाम मुछिएपछि पार्टीमै प्रश्न उठेको भन्दै रास्वपामै ठूलो तप्का असन्तष्ट छ । सोविता गौतम, तोसिमा कार्कीलगायत नेतृहरुले सार्वजनिक रुपमै असन्तुष्टी जनाएपछि ठूला भनिएका दलहरुको आत्मबल बढेको छ । तर रास्वपा नेताहरु भने रविको विवादास्पद छविको भार पार्टीले नबोक्ने र रास्वपा शुद्ध रहेको बताउँछन् ।
हुन पनि पुराना दलहरुले वर्षौँ संघर्ष गरेर पनि वडाध्यक्षको समेत टिकट नपाएकाहरुलाई रास्वपाले सांसद बनाइदियो । कांग्रेसको त ठूलै हिस्सा रास्वपाले तानिदिएपछि उनीहरुको तुष स्वभाविक हुनसक्छ । आफैँ सत्तामा भएका बेला जनतालाई राहत महसुस गराउने काम गरेर भन्दापनि विकल्प भनिएका दलहरु विकल्पहीन बने राज्यसत्तामा रजगज गर्न सहज हुने बुझाइमा ठूला भनिएका दलहरु छन् ।
पुराना दलको कार्यशैलीप्रति बढ्दो वितृष्णा र युवाले नेतृत्व गरेको राजनीतिप्रतिको आशा र अपेक्षाले मत परिवर्तनको क्रान्ति ०७९ सालको आम निर्वाचनले देखायो । अझैपनि नसच्चिने प्रण गरेका दलहरुले विकल्प भनिएका दलहरुमाथि प्रहार गर्नुले ०८४ पछि सकिने अस्त्र आफैँले प्रयोग गरेको बुझ्न समस्या छैन ।


प्रतिक्रिया