समाचार

प्रचण्ड कमाण्डर सरकारमा, सिपाही थ्ऋी रुसमा ढले, पुटिनको अफरले हौसिए युवा ? पत्रको आएन उत्तर (भिडियोसहित)


काठमाडौँ— विगत २३ महिनादेखि रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या निरन्तर थपिरहेको छ । रुसी सेनामा भर्ती भएका १२ नेपालीको मुत्यु भइसकेको छ । रुसी सेनामा भर्ती हुन बन्देज लगाउनेदेखि भर्ती भइसकेका युवाको उद्धारमा सरकारले गरिरहेको सबै पहल पर्याप्त हुन सकेको छैन ।

रुसी सेनाको पोशाकमा सजिएर, एउटा कोठाभित्र पृष्ठभूमिमा आफ्नो साथीहरु देखाउँदै सानु तिम्ले नमान टेन्सन, बाँचे तलब मरे त पेन्सन भन्दै प्रफुल्लित मुद्रामा गीत गाएका हरि अर्याल सदाका लागि अस्ताएका छन् । अक्टोबर ८ मा यो भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका हरिको मृत्यु भएको खबर परिवारले पुष १७ गते परराष्ट्र मन्त्रालयको फोन आएपछि थाहा पायो । उनको गत डिसेम्बर ३ मै मृत्यु भएको थियो । रुसी सेनामा भर्ती भएको दुई महिनामै उनको मृत्यु भएको हो । मंगलवार फेरि लमजुङको साजन गुरुङको मृत्यु भएको खबर आयो ।

साजनसहित हालसम्म रुसी सेनामा भर्ती भएका १२ नेपाली युवाको मृत्यु भइसकेको छ । ३ सय नेपाली रुसी सेनामा भर्ती भएको सरकारको आँकडा रहे पनि २ हजार बढी नेपाली रुसी सेनामा रहेको अनुमान गरिएको छ । युद्धस्थलमा हरेक १५ दिनमा सेनाको अदलीबदली हुन्छ । हरेक अदलीबदलीले एक जना नेपाली युवाको मृत्यु भएको देखिन्छ ।


आफ्नो सहारा गुमाउँदाको पीडा, सास नभेटिएकाहरुको शवसमेत नभेटिँदाको पीडा कस्तो हुन्छ ? मृतकको परिवारलाई मात्र थाह छ । अनि प्रतिक्षा के हो सेनामा भर्ती भएकाहरुको सकुशल उद्धार गर्न सरकारसँग याचना गरिरहेका परिवार आफन्तलाई थाह छ । आफ्नो सन्तानको शवसमेत नपाएका परिवारले कुशको शव बनाएर आफ्नो संस्कार अनुसार दाहसँस्कार गरिरहेका छन् । मृत्युको खबर सुन्नेलाई सामान्य लाग्न थालेको छ ।

सरकारले पनि सामान्य लागेर नै होला प्रभावकारी पहल गर्न सकिरहेको छैन । रुसी सेनामा अवैध रुपमा भर्ती गराउने गिरोहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको सरकारले रुसको युद्ध भूमिबाट नेपाली युवालाई फिर्ता ल्याउने सवालमा भने कुटनीतिक रुपमा असफल झै भईरहेको छ । परराष्ट्र मन्त्रालयले पठाएको पटक पटकको कुटनीतिक नोट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दैलोमा पुगे पनि पहल हुन सकेको छैन । पीडित परिवारदेखि सांसद नै सरकारलाई ताकेता गरिरहेका छन् । तर उपलब्धि शून्य छ ।

रुसी सेनामा भर्ती भएका १२ नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि उनीहरूको शव स्वदेश आउने÷नआउनेमा अनिश्चित बनेको छ । यसबारेमा परराष्ट्र मन्त्रालयसमेत अन्योलमा देखिन्छ । मन्त्रालयका अधिकारीले मृतकका शव ल्याउनेबारे परिवारलाई प्रस्ट बताउन सकेका छैनन् ।

रुस युक्रेन युद्ध सुरु हुनासाथ नेपालले युक्रेनको पक्ष लिएको थियो । यद्यपि, युक्रेनलाई घुँडा टेकाइ छाड्ने प्रतिबद्धता जनाएका रुसी राष्ट्रपति पुटिनले अनेक अफर दिएर रुसी सेनामा विदेशी युवालाई आकर्षित गर्ने योजना अगाडि सार्दै आएका छन् । रुसी सेनाको आकार विस्तार गर्दै लैजाने पुटिनको नीतिले विदेशी युवा भर्ती अझै रोकिन सकेको छैन ।

सोही कारण नेपाली युवासमेत भर्ती हुने क्रम रोकिएको छैन । सरकारले रुस जान कडाइ गरेपनि विभिन्न अवैध बाटोमार्फत नेपाली रुस पुग्ने क्रम जारी छ । अहिले यो विषय नेपाल सरकारको नियन्त्रण भन्दा बाहिर पुगेको अवस्थामा छ । कानुनी र वैधानिक बाटो नेपाल सरकारसँगै नभएकाले आफ्नो बसभन्दा माथि पुगेको अवस्था प्रष्ट छ ।