Breaking

किम जोङ उनपछि उत्तर कोरियाको शासक को ? सार्वजनिक मन्चमा किन आउँदैछिन् छोरी ?


काठमाडौँ – उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदै मुलुकको नेतृत्व गर्नका निम्ति तयार गराइरहेका छन् । किम जोङ उनकी बहिनी किम यो जोङलाई उत्तराधिकारी बनाउने सम्भावना रहे पनि अहिले किम जोङले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउने तयारीमा जुटेका हुन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विश्वका चर्चितमध्येका एक नेता हुन् । उनलाई सनकका भरमा काम गर्ने नेताका रुपमा पनि धेरैले चिन्छन् । हुन पनि उनले कतिबेला के गर्ने हुन् भन्ने पूर्वानुमान कसैले गर्न सक्दैनन् । सायद त्यही कारणले उनी विश्वभर चर्चित छन् । चर्चाकाबीच अहिले किमका उत्तराधिकारी को हुन्छन् भन्ने चर्चा पनि चुलिँदै गएको छ । धेरैले उनकी बहिनी किम यो जोङ उत्तर कोरियाकी कार्यवाहक शासक हुने अनुमान गरिरहेका थिए । तर प्रश्नै प्रश्नकाबीच अहिले दक्षिण कोरियाको गुप्तचर एजेन्सीले उत्तर कोरियामा नेता किम जोङ उनको मृत्युपछि उनकै कान्छी छोरी उत्तराधिकारी बन्ने खुलासा गरेको छ ।

उत्तर कोरियाले गर्ने लामो दूरीको क्षेप्यास्त्र परीक्षणदेखि विभिन्न सार्वजनिक समारोहमा समेत किम जोङ–उनसँगै देखिने बालिका किमको उत्तराधिकारी बन्न सक्ने सम्भावना रहेकोबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । १० वर्षकी किम जु–एलाई सबैभन्दा सम्भावित उत्तराधिकारीको रूपमा हेरिएको छ । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार जु–ए भन्दा सानो किमको अर्को सन्तान थियो । उनीहरूले गोप्य सूचनाको हवाला दिँदै किमको जु–ए भन्दा ठूलो छोरा पनि हुन सक्छ भनेका छन् । तर हालसम्म सार्वजनिक रूपमा देखा परेको किमको एक मात्र सन्तान जु–ए हुन् । किमको ‘सबैभन्दा प्यारो वा ‘सम्मानित’ सन्तानका रूपमा जु–एलाई उल्लेख गरिएको छ । र सैन्य जनरल तथा अन्य उच्चस्तरीय अधिकारीहरूले उनको अगाडि घुँडा टेकेको तस्वीरहरुमा देखिएका छन् । उत्तर कोरियामा राजतन्त्र छैन, तर दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै त्यहाँ किमवंशको शासन छ । वास्तविकता के हो भने किमहरूले उत्तर कोरियाको स्थापनाकालदेखि नै उत्तर कोरियालाई निजी पारिवारिक व्यवसाय जसरी चलाइरहेका छन् । किमका हजुरबुबा किम इल सुङ र बुबा किम जोङ इल दुवैले आफ्नो मृत्यु नभएसम्म शासन गरे ।

किम जोङ उनले सन् २०११ मा आफ्ना बुबा किम जोङ–इलको मृत्युपछि पदभार ग्रहण गरेका थिए । गोप्य रुपमा राखिने किम परिवारमा उत्तराधिकारी को हुन्छन् भनी अनुमान गर्न धेरै गाह्रो हुन्छ । धेरै विदेशी विश्लेषकहरूले लामो समयदेखि किम जोङ–उनका दुई दाजुहरूमध्ये एकले आफ्नो बुबाको स्थान लिनेछन् भनेर अनुमान गरेका थिए । तर उत्तर कोरियाले सन् २००८ मा किम जोङ–इल बिरामी भएपछि एक्कासी किम जोङ उनलाई उत्तराधिकारी भनेर घोषणा गरेको थियो । उत्तर कोरियाको संभ्रान्त वर्गको किम परिवारभन्दा बाहिरबाट शासक छान्नु कठिन हुने ठानिएको छ । किमका सौतेनी दाइ किम जोङ नामको केही वर्षअघि मलेसिया विमानस्थलमा हत्या गरिएको थियो । उनी कोरियाका पूर्व शासक कोम जोङ इलका सौतेनी आमापट्टिका जेठा छोरा थिए । ४५ वर्षको उमेरमा उनको हत्या भएको थियो ।

उनलाई शासनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो । यो हत्यामा भाइ किमजोङ उनको हात रहेको जानकारहरु बताउँछन् । जे होस्, उत्तर कोरियामा जु–ए किमको उत्तराधिकारीका रुपमा बिराजमान भइन् भने पितृसत्तात्मक र पुरुष प्रधान उत्तर कोरियाको पहिलो महिला शासक बन्ने पक्का छ ।