काठमाडौं — त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धामार्फत गरिने भनी आवेदन माग गरे पनि घुमाउरो पारामा आफू अनुकुल मान्छे नियुक्त गर्न सरकार अग्रसर भएको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएको छ ।
आज गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख भएका प्रावधानले त्रिविको स्वायत्तता र गरिमा कायम गर्न नसक्ने आशंका गर्दै अनेरास्ववियुले प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा त्रिविसँग जोडेर दिएका अभिव्यक्तिप्रति समेत ध्यानर्षण भएको वक्तव्यमा उल्लेख गरेको छ ।
‘वर्तमान शासकीय स्वरुप अनुरप प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने प्रणाली अन्त्य नगरी त्रि।वि।मा राजनीतिक भागबण्डा अन्त्य नहुने र त्यसको विकल्पको रुपमा प्राज्ञिक स्वायत्तता कायम गर्न स्वतन्त्र, निष्पक्ष निकायको रुपमा ‘बोर्ड अफ ट्रस्टी’ गठन गरेर सोही मार्फत खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिहरुलाई कुलपति लगायत पदाधिकारी नियुक्त गर्नु पर्दछ,’ अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर आज प्रकाशित सुचनाको बुँदा नं। (ङ) को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानले योग्य व्यक्तिहरुलाई खुला प्रतिस्पर्धाबाट बञ्चित गराउने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हावी हुन दिने वर्तमान गठबन्धन सरकारको मनशाय रहेको स्पष्ट हुन्छ । यस घटनाक्रमले प्रधानमन्त्रीको त्रिभुवन विश्वविद्यालय सुधार गर्ने भन्ने अभिव्यक्ति जनताको आँखामा छारो हाल्ने काम मात्र भएको प्रमाणित भएको छ ।’
अनेरास्ववियले विग्रदो उच्च शिक्षाको अवस्था सुधार गर्न र राजनीतिक खिचातानीले ग्रस्त त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता कायम गर्न वर्तमान शासकीय स्वरुप परिवर्तन गर्न माग गरको छ । उसले ‘बोर्ड अफ ट्रस्टी’ मार्फत त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न र प्रधानमन्त्री कुलपति तथा शिक्षा मन्त्री सहकुलपति हुने प्रणाली अन्त्य गरी प्राज्ञिक व्यक्तिलाई कुलपति लगायत पदाधिकारी नियुक्त गर्नका लागि त्रि।वि ऐन संशोधन लगायत आवश्यक व्यवस्था माग गरेको छ ।


प्रतिक्रिया