Breaking

हमासलाई नसिध्याइ कसैको दबाबमा इजरायलले युद्ध नरोक्ने, इरान र कतारले हमासको साथ छोडेकै हुन् ?


काठमाडौँ – मत्थर हुँदै जानु पर्ने इजरायल हमासबीचको युद्ध झनझन चर्कने संकेत देखिएको छ । बाहालवाला मन्त्रीकै छोराको हत्यापछि आक्रामक बन्दै हमासलाई निमिट्यान्न पार्न रणभूमिमा इजरायल होमिदा हमासका शीर्ष नेताहरुले भने धमाधम कतार छोड्न थालेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको लडाईँ कसैले रोक्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा एक भिडियो सेयर गर्दै प्रधानमन्त्री नेतन्याहूले विश्वको कुनै दबाबले पनि हमासविरुद्धको लडाईँ नरोकिने बताएका हुन् । उनले सैन्य कमाण्डरहरुलाई हमासलाई समाप्त नगरेसम्म कारबाही नरोक्न आदेश दिइसकेको भन्दै आफूहरुलाई कसैले रोक्न नसक्ने जिकिर गरे । यसअघि संयुक्त राष्ट्र संघको महासभामा गाजामा जारी युद्ध रोक्न आग्रह गर्ने र दबाब दिने प्रस्ताव पारित भएको थियो ।

यसबारे प्रतिक्रिया दिँदै इजरायली विदेशमन्त्री एली कोहेनले विश्वव्यापी दबाब वा समर्थन जुनै परिस्थितिमा पनि युद्ध नरोकिने बताएका थिए । प्रधानमन्त्री नेतन्याहूले यदि युद्ध रोकिएमा हमास पुनः उठ्ने र इजरायलका लागि सुरक्षा खतरा बढ्ने बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा इजरायलले गरेको अन्धाधुन्ध बम प्रहारले विश्वव्यापी समर्थन गुमाइरहेको टिप्पणी गरेको भोलिपल्ट इजरायलको यस्तो प्रतिक्रिया आएको हो ।

यता गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तीव्र पारेपछि हमासका नेताहरू कतार छोड्न थालेका छन् । कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरू कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सञ्चार माध्यमहरूका अनुसार हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेका छन् । उनीहरूले सबैको फोन कल रिसिभ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ । उनीहरू कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ ।

हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर टर्की पुगेको बताइएको छ । टर्कीले लामो समयदेखि हमास चरमपन्थीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन् ।

टर्की र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन् । इजरायलले कतारलाई हमाससँग वार्ता जारी रहेसम्म हमास नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो । तर वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन । अहिले इजरायल र हमासबीच संवादहिनताको अवस्था छ । यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउन सक्ने डर हमासलाई छ ।