Breaking

कोशीमा प्रवेश निषेध गर्ने अभियानमा रहेका पहिचानवादीहरू पक्राउ


काठमाडौँ — पहिचान पक्षधरका नेता गोपाल किराँतीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानमा रहेको पहिचानपक्षधरका नेता किराँतीसहित दर्जनबढी आन्दोलनकारीलाई पक्राउ गरेको किराँत याक्थुङ चुम्लुङका केन्द्रिय महासचिव निरन्ति तुम्बापोले जानकारी दिनु भयो ।

आज नेता किराँतीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको बताउँदै उनले किराँतीसहित खोटाङ र भोजपुरबाट दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको बताउनु भयो ।

किराँतीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको उदयपुरका पत्रकार राजेन्द्र दुष्टले जानकारी दिनुभयो। कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नेता किराँतीसहित दश जना पक्राउ परेको पुष्टि गर्नु भयो।

मंसिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलबार कोशी प्रदेशमा प्रवेश गर्दैछ। एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गर्नेछ। एमालेको यात्रालाई अवरोध पुर्याउने उद्देश्यले पहिचान पक्षधरले अवरोध गर्ने चेतावनी दिँदै आएका छन्।